मुम्बईको डीवाई पाटिल स्पोर्टस एकेडेमीमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ३० रनले हरायो ।
काठमाडौँ — मुम्बई– ट्वान्टी ट्वान्टी विश्वकप २०२६ को बुधबार भएको आधिकारिक वार्मअप खेलमा भारत र नामिबिया विजयी भएका छन् ।
दुवै टिमले हाईस्कोरिङ खेलमा जित हात पारेका हुन् । यस्तै अन्य खेलमा अफगानिस्तान पनि विजयी रह्यो ।
मुम्बईको डीवाई पाटिल स्पोर्टस एकेडेमीमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ३० रनले हरायो । भारतले पहिले ब्याटिङ गर्दै छ विकेटमा २ सय ४० रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाले सात विकेटमा २ सय १० रन मात्र बनाउन सक्यो ।
बेंगलुरुमा भएको खेलमा नामिबियाले स्कटल्यान्डलाई छ रनले पराजित गरेको हो । नामिबियाले सुरुमा चार विकेट गुमाएर २ सय २६ रन बनाएको थियो । जवाफमा स्कटल्यान्डले पाँच विकेटमा २ सय २० रन बनाएको थियो ।
यस्तै अफगानिस्तानले बेंगलुरुमै वेस्ट इन्डिजमाथि २३ रनको जित दर्ता गरेको हो । अफगानिस्तानले छ विकेटमा १ सय ८२ रन बनाएपछि जवाफमा वेस्ट इन्डिजले १ सय ५९ रन मात्र बनाउन सक्यो ।
