भुटानलाई फराकिलो अन्तरले हराएसँगै भारतले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।
कास्की — पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा भारतले भुटानलाई ८-० गाेलको फराकिलो अन्तरले पराजित गरेको छ ।
पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा भएको खेलमा जित दर्ता गर्ने क्रममा भारतले पहिलो हाफमा ७ र दोस्रो हाफमा १ गोल गरेकाे हाे । भारतकी पर्ल फर्नान्डेजले खेलमा ह्याट्रिक गर्न सफल भइन् । उनले खेलको छैटौं, ३९औं र ४१औं मिनेटमा गोल गरेकी थिइन् ।
त्यसैगरी प्रतिका बर्मनले २५औं र ९०औं मिनेटमा गोल गरिन् । एलिशा लिङदोज, एविस्था र दिव्यानी लिन्डाले समान एक/एक गोल गरेका छन् ।
भुटानलाई फराकिलो अन्तरले हराएसँगै भारतले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । भारतको जितसँगै नेपालको फाइनल प्रवेशको सम्भावना कठिन बनेको छ । दुई खेल जितेको भारतले बङ्गलादेशसँग समान ६ अङ्क बनाएको छ ।
बङ्गलादेशले भने एक खेल खेल्न बाँकी छ । घरेलु टोली नेपाल ३ अङ्कसहित तेस्रो स्थानमा छ ।
लिग चरणको अर्को खेल नेपाल र बङ्गलादेशकाबीचमा हुँदैछ । यस खेलको नतिजाले फाइनल खेल्ने टोलीको टुङ्गो लाग्नेछ । फाइनल प्रवेशका लागि नेपालले बङ्गलादेशलाई फराकिलो अन्तरले हराउनुको विकल्प छैन ।
प्रतियोगिताको अङ्क तालिकामा शीर्ष दुईमा रहने टोलीकाबीच फाइनल खेल यही २४ माघमा हुनेछ ।
