पीएम कप छनोट : बाँके र दाङ विजयी

लुम्बिनी प्रदेश क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा बाँकेले पाल्पालाई पाँच विकेटले पराजित गरेको थियो भने दाङले कपिलवस्तुलाई दुई विकेटले पराजित गरेको हो ।

माघ २०, २०८२

दीपेन्द्र बडुवाल

PM Cup selection: Banke and Dang win

What you should know

भैरहवा — रूपन्देहीमा सञ्चालन भइरहेको प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय छनोटअन्तर्गत मंगलबारको खेलमा बाँके र दाङ विजयी भएका छन् ।

लुम्बिनी प्रदेश क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा बाँकेले पाल्पालाई पाँच विकेटले पराजित गरेको थियो भने दाङले कपिलवस्तुलाई दुई विकेटले पराजित गरेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पाल्पाले ४३ ओभरमा छोट्याइएको खेलमा ३४ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय १६ रन बनायो । उसका लागि रूपेश बस्यालले ३०, रोशन घिमिरले २१, नरबहादुर सार्कीले १४ र नविन भण्डारीले ११ रन बनाए । बलिङतर्फ बाँकेका लभकुश यादवले ४, सलाउद्दिन खान र निश्चल आचार्यले २–२ तथा सिद्धान्तराज शाहीले १ विकेट हात पारे । जवाफमा बाँकेले २२ ओभर ३ बलमा ५ विकेट गुमाएर १ सय १९ रन बनाउँदै जित निकाल्यो । 

बाँकेको जितमा सुनिल भण्डारीले अविजित २४, मोहम्मद सहदाब अन्सारीले २३, रोशन केसीले २०, सलाउद्दिन खानले नटआउट १६ र सिद्धान्तराज शाहीले १४ रनको योगदान दिए । बलिङतर्फ पाल्पाका रूपेश बस्यालले २ तथा केशव परई, नरबहादुर सार्की र मनीष न्यौपानेले समान १–१ विकेट लिए । 

तिलोत्तमास्थित एक्स्ट्राटेक ओभलमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कपिलवस्तुले ४८ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि रौनक श्रीवास्तवले ६१ रनको अर्धशतकीय पारी खेले । मोहम्मद हुसेन गद्दीले ४२, मोहम्मद सबोज मुसलमानले २६ र शिव कुँवरले १८ रन जोडे । बलिङमा दाङका वीरबहादुर घर्तीले ४, राजकुमार कुमालले २ तथा शुभम खनाल, दिनेश बोहरा र मोहन खत्रीले समान १–१ विकेट लिए ।

जवाफी व्याटिङ गर्दै दाङले ४३ ओभर ४ बलमा ८ विकेट गुमाएर २ सय ४ रन बनाएर जित निकाल्यो । दाङका हेमराज सापकोटाले ६७, शिशिर डीसीले ३० र शुभम खनालले १४ रनको योगदान गरे । बलिङमा कपिलवस्तुका शिव कुँवरले ३, मोहम्मद हुसेन गद्दी र रौनक श्रीवास्तवले २–२ तथा महेश भरले १ विकेट लिए । 

माघ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका सात जिल्लाका टिम सहभागी छन् ।

दीपेन्द्र

Link copied successfully