दीपेन्द्र र आरिफको अर्धशतकमा नेपालद्वारा यूएई पराजित

दीपेन्द्र र आरिफले चौथो विकेटमा १ सय ३ रनको अविजित साझेदारी गरेपछि नेपालले १७ ओभरमै १ सय ४८ रन बनाएको थियो ।

माघ २०, २०८२

कान्तिपुर संवाददाता

Nepal defeats UAE on half-centuries from Dipendra and Arif

What you should know

काठमाडौँ — दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकपको आफ्नो पहिलो अभ्यास खेलमा मंगलबार यूएईलाई सजिलै ७ विकेटले पराजित गरेको छ ।

चेन्नईको चेपकस्थित एमए चिदाम्बरम रंगशालामा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४५ रन बनाएको थियो । 

दीपेन्द्र र आरिफले चौथो विकेटमा १ सय ३ रनको अविजित साझेदारी गरेपछि नेपालले १७ ओभरमै १ सय ४८ रन बनाएको थियो । उपकप्तान दीपेन्द्रले ५० रन बनाए । उनले ३१ बल खेलि ४ चौका र १ छक्का प्रहार गरे । आरिफ ३७ बल खेलि ६१ रनमा अविजित रहे । आरिफले ८ चौका र २ छक्का प्रहार गरे ।

ओपनर कुशल भुर्तेल २ चौका प्रहार गरेपछि ८ रनमा मोहम्मद रोहिदको बलमा विकेटको पछाडि क्याच दिन पुगे । आसिफ शेख ६ बलमा ८ र कप्तान रोहित पौडेल १९ बलमा १६ रन बनाई आउट भए । दुबै रनआउट हुन पुगेका थिए ।

यसअघि यूएईबाट साहिद खान ३८ रन बनाई अविजित रहे । उनले २७ बल खेलि ३ चौका र १ छक्का प्रहार गरे । हर्षित कौषिकले २४ बल खेलि ३ चौका र २ छक्कासहित ३५, आर्यान्श शर्माले १७ बलमा ३ चौका र १ छक्का प्रहार गरि २५, मोहम्मद जाहिदले १९ र आलिसान सराफुले १२ रन बनाए ।

करण केसीले पहिलो ओभरमै कप्तान मोहम्मद वासिमलाई ६ रनमा बोल्ड गरेपछि यूएईले खुलेर खेल्न सकेन । करणले ३ ओभरमा २६ र सन्दीप लामिछानेले ४ ओभरमा २४ रन खर्चेर २–२ विकेट लिए । दीपेन्द्रले ३ ओभरमा १२ रनमात्र खर्चेर १ विकेट लिएका थिए ।

नेपालले बिहीबार क्यानडासँग चेन्नईमै दोस्रो अभ्यास खेल खेल्नेछ । नेपालले विश्वकपको सबै खेल मुम्बईमा खेल्ने छ । दुई पटकको च्याम्पियन इंग्ल्यान्डसँग आइतबार खेलेर नेपालले विश्वकप यात्रा प्रारम्भ गर्नेछ । 

कान्तिपुर

Link copied successfully