सहलेशका जर्सी नम्बर १० का खेलाडी विकी चामलिङ राईले २६ औं मिनेटमा गरेको पहिलो गोल नै जितका लागि निर्णायक बन्यो ।
उदयपुर — उदयपुरको बसाहामा जारी नारदमूनि थुलुङ स्मृति गोल्डकप अन्तरगत मंगलबार अन्तिम सेमिफाइनल खेलमा सहलेश युवा क्लब सिराहा फाइनल पुगेको छ ।
एपीएफ काठमाडौंलाई ० कोविरुद्ध १ गोल गर्दै सहलेशले फाइनल यात्रा तय गरेको हो । सहलेशका जर्सी नम्बर १० का खेलाडी विकी चामलिङ राईले २६ औं मिनेटमा पहिलो गोल गरे । सोही गोल जितका लागि निर्णायक गोल बन्यो ।
खेलको पूरै अवधि एपीएफले गोलको प्रयास गरे पनि विफल रह्यो । तीन विदेशी खेलाडीसहितको सहलेशको सुरुदेखि नै दबदबा थियो । मंगलबारको म्यान अफ द म्याच सहलेशका गोलकर्ता जर्सी नम्बर १० का विकी चाम्लिङ राई घोषित भए । उनले पाँच हजार नगद पाए।
माघ २२ गते फाइनल खेल द यङ ब्रदर्स क्लब सुनसरी र सहलेश क्लब सिराहा बीच हुनेछ । सहलेश डिफेन्डिङ च्याम्पियन हो । गत वर्ष झापा ११ लाई पराजित गरी सहलेश च्याम्पियन बनेको थियो ।
