नेपालको फाइनल सम्भावना जीवितै ।
पोखरा — पोखरामा जारी साफ यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत सोमबार नेपालले भुटानलाई पराजित गर्दै फाइनल सम्भावना जीवितै राखेको छ । पोखरा रंगशालामा भुटानलाई २–१ ले पराजित गर्दै नेपालले ३ अंक जोडेको हो ।
खेलको ३६ औं मिनेटमा सिर्जना बडुवालले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा धेरै अवसर पाएको नेपालले गोलमा परिणत गर्न सकेन ।
खेलको २७ औं मिनेटमा संगीता मल्लाको स्थानमा मैदान प्रवेश गरेकी प्रजिता राईले ६९ औं मिनेटमा गोल थप्दै अग्रता दोब्बर बनाइन् । भुटानकी सोनाम छोदेनले ८७ औं मिनेटमा जवाफी एक गोल फर्काइन् । खेलमा सिर्जना बडुवालले प्लेयर अफ द म्याचको ट्रफी पाइन् ।
लिगको शीर्ष स्थानमा रहँदै बंगलादेश फाइनलको नजिक छ । दुई खेलमा हार बेहोरेको भुटानको फाइनल यात्राको सम्भावना सकिएको छ । भारतसँग १–० ले पराजित भएको नेपाल गोलअन्तरका आधारमा भने अंकतालिकामा भारतभन्दा अघि छ ।
सोमबार नै भारत बंगलादेशसँग २–० ले पराजित भएको थियो । अब नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ । भारत र भुटानले प्रतिस्पर्धा गर्नेछन् । अंक तालिकामा रहेका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।
