सुमित श्रेष्ठले १ सय ८ रनको शतकीय पारी खेलेपछि बर्दियाको जित सुनिश्चित भएको थियो भने रूपन्देहीको जितमा देव खनालले ७५ रनको अर्धशतकीय पारी खेलेका थिए ।
What you should know
भैरहवा — प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशअन्तर्गत पुरुष एक दिवसीय क्रिकेट छनोट सोमबार सुरु भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा सिद्धार्थ क्रिकेट र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा छनोट खेल सुरु भएका हुन् ।
पहिलो दिन रूपन्देही र बर्दियाले विजयी सुरुआत गरेका छन् । रूपन्देहीले कपिलवस्तुलाई ७ र बर्दियाले पश्चिम नवलपरासीलाई पनि ७ विकेटले नै पराजित गरेका हुन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्दै कपिलवस्तुले निर्धारित ५० ओभरमा ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय ८ रन जोड्यो । कपिलवस्तुका रौनक श्रीवास्तवले ३१, मोहम्मद सहबाज मुसलमानले २४ र शिव कुँवरले २० रन बनाए । बलिङतर्फ रूपन्देहीका मौसम ढकालले ५ तथा अजय चौहानले २ विकेट लिए ।
रूपन्देहीले १२ ओभर ३ बलमा ३ विकेट गुमाएर लक्ष्य प्राप्त गर्यो । रूपन्देहीको जितमा देव खनालले ७५ रनको अर्धशतकीय पारी खेले । आकाश त्रिपाठीले १८ रन जोडे । कपिलवस्तुका महेश भरले २ र जीवन मौर्यले १ विकेट लिए ।
एक्स्ट्राटेकमा भएको खेलमा पहिले ब्याटिङ गरेको नवलपरासीले ४९ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ३५ रन बनायो । उसका लागि जितेन्द्र केवटले ५५, भरतकुमार मगरले ४२, सम्राट भुसालले ३० र दिलीप कुर्मीले २४ रन बनाए । बलिङतर्फ बर्दियाका स्लोप चौधरी र निखिल खत्रीले ३–३ विकेट लिए । जवाफमा बर्दियाले ४२ ओभर ३ बलमा ३ विकेट गुमाएर २ सय ३९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सुमित श्रेष्ठले १ सय ८ रनको शतकीय पारी खेले । नितेष न्यौपानेले ४२ तथा हर्षल भण्डारी र अशिम गिरीले समान २९ रन जोडे । बलिङमा नवलपरासीका सुमित थापाले २ तथा भरतकुमार मगरले १ विकेट लिए । खेलमा सुमित श्रेष्ठ प्लेयर अफ द म्याच भए ।
माघ २४ गतेसम्म चल्ने छनोट खेलको विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्लेयर अफ द म्याचले ११ हजार १ सय ११ र प्रत्येक दिन म्यान अफ द म्याचले १ हजार १ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जनाए ।
