लगातार चार जितपछि मछिन्द्र पहिलो पटक बराबरीमा रोकिएको हो ।
What you should know
काठमाडौँ — मछिन्द्र फुटबल क्लब र लालीगुराँस एसोसिएसनबीच सोमबार राष्ट्रिय लिगको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।
सातदोबाटोको एन्फा कम्प्लेक्समा दुवै टिमले एकअर्काप्रति बढी सम्मान दिएर खेलेका थिए । यसै कारण दुवै टिम निर्णायक आक्रमण बुन्न असफल रहे ।
दुवै टिम एक–एक अंकमा चित्त बुझाउँदा खुसी नै रहे, कारण दुवै टिम प्रतियोगितामा अपराजित रहेका छन् । मछिन्द्रको लगातार जितमा भने पूर्णविराम लागेको छ, यद्यपि पाँच खेलबाट १३ अंकसहित टिम शीर्ष स्थानमा उक्लेको छ । लगातार चार जितपछि मछिन्द्र पहिलो पटक बराबरीमा रोकिएको हो । लालीगुराँसप्रति सम्मान व्यक्त गर्दै प्रशिक्षक प्रवेश कटुवालले भने, ‘प्रतिद्वन्द्वी बलियो टिम हो । अब हाम्रो ध्यान टिम अझ बलियो बनाउनुतर्फ हुनेछ । हामी अब नयाँ खेलाडीको पनि खोजीमा हुनेछौं ।’
लालीगुराँसको भने यो लगातार दोस्रो गोलरहित बराबरी हो । उसको पाँच खेलबाट ११ अंक भएको छ र पाँचौं स्थानमा छ । खेलपछि प्रशिक्षक किरण श्रेष्ठले टिमको प्रदर्शनमा सन्तुष्टि व्यक्त गरे र मछिन्द्र बलियो प्रतिद्वन्द्वी भएकै माने । यद्यपि लालीगुराँसलाई लगातार दुई खेलमा गोल गर्न नसक्नु भने चिन्ताको विषय हुनेछ । पुलिसविरुद्धको जितमा अन्त्यतिर एक गोल गरेयता लालीगुराँसले १ सय ८० भन्दा बढी समयको खेलमा गोल गर्न सकेको छैन ।
सातदोबाटो युवा क्लब र चित्लाङको दिनको पहिलो खेल पनि बराबरीमा टुंगिएको थियो । यो नतिजाले दुवै टिमलाई फाइदा भने गर्ने छैन । सातदोबाटोको यो पाँचौं खेलमा दोस्रो गोलरहित बराबरी हो र टिम पाँच अंकमै रहेको छ । अर्कोतर्फ चित्लाङ पनि पाँच अंकमै रहेको छ । अंक तालिकामा सातदोबाटो दसौं र चित्लाङ ११ औं स्थानमा छ ।
