चितवनको प्रतिनिधित्व गरेर राष्ट्रियस्तरका प्रतियोगिता खेल्दै आएका सन्देश गुरुङ जिल्लामा निरन्तर प्रतियोगिता नहुँदा खेलाडी उत्पादनमा कठिनाइ भइरहेको बताउँछन् ।
What you should know
भरतपुर — चितवनमा धेरै आयोजना गरिने र लोकप्रिय खेल फुटबल हो । त्यसपछि क्रिकेट र भलिबलमा आकर्षण देखिन्छ । जिल्ला खेलकुद विकास समितिमा अहिले २१ खेल सम्बद्ध संस्था दर्ता छन् । दर्तामध्ये फुटबल, क्रिकेट, भलिबल, कराते, तेक्वान्दोबाहेकका खेल संघ निष्क्रिय छन् ।
जिल्ला बास्केटबल संघ पनि गतिविधिविहीन छ । संघ निष्क्रिय हुँदा खेलाडी मारमा परेका छन् । जिल्लास्थित निजी संघसंस्थाले छिटफुट प्रतियोगिता आयोजना गर्दै आएका छन् । तर, स्थानीय सरकारसँग सहकार्य गरेर प्रतियोगिता हुन सकेका छैनन् । प्रतियोगिता नहुँदा नयाँ खेलाडी उत्पादन ठप्प छ । चितवनको प्रतिनिधित्व गरेर राष्ट्रियस्तरका प्रतियोगिता खेल्दै आएका सन्देश गुरुङ जिल्लामा निरन्तर प्रतियोगिता नहुँदा खेलाडी उत्पादनमा कठिनाइ भइरहेको बताउँछन् ।
‘नौ वर्षदेखि निरन्तर बास्केटबलसँग जोडिएको छु,’ उनले भने, ‘धेरै प्रतियोगिता खेल्न पाइएको छैन, हामी खेलाडी नै सक्रिय भएर प्रदेशस्तरीय प्रतियोगिता खेलेका छौं ।’ निरन्तर प्रतियोगिता आयोजना भए नयाँ खेलाडी उत्पादन हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने गुरुङको भनाइ छ । ‘बेलाबेला निजी संस्थाको प्रयासमा छिटफुट प्रतियोगिता हुन्छन्, तर खेलाडी उत्पादन गर्न पर्याप्त छैनन्,’ उनले भने, ‘सरकारी सहयोगमा प्रतियोगिता नभए बास्केटबल अघि बढ्दैन ।’
जिल्ला खेलकुद विकास समितिमा दर्ता चितवन बास्केटबल संघका अध्यक्ष गोपाल गुरुङ हुन् । उनी खेलबाट टाढा छन् । ‘खेललाई समय दिन सकिरहेको छैन,’ उनले भने, ‘छिट्टै एउटा प्रतियोगिता गरेर युवालाई नेतृत्व सुम्पिने तयारीमा छु ।’ उनी आठ वर्षदेखि नेतृत्वमा छन् । तर, उनलाई साथ दिने समितिमा अन्य सहयात्री छैनन् । कोही विदेश पुगिसकेका छन् । कोही यहीँ भएर पनि निष्क्रिय छन् । ‘म एक्लैजस्तो भएँ, केही संस्थाले गर्ने प्रतियोगितामा सहकार्य गरेको छु,’ उनले भने, ‘आफैंले प्रतियोगिता गर्न सकिएन, जसले गर्दा संघ निष्क्रिय बन्यो ।’
संघलाई सक्रिय बनाउन खेलकुद विकास समितिले प्रयास गरे पनि सफल नभएको समितिका कार्यालय प्रमुख रामजी ढकाल बताउँछन् । ‘संघलाई प्रतियोगिता आयोजना गर्न झक्झकाइ रहेका हुन्छौं,’ उनले भने, ‘तर काम भएको देखिँदैन, हामीलाई जिल्लाबाट प्रदेशमा बास्केटबलको टिम पठाउन कठिनाइ भइरहेको छ ।’ यस्तो परिस्थितिमा पनि यहाँका युवा बास्केटबल उकास्न प्रयासरत छन् ।
खेलाडी उत्पादन गर्ने उद्देश्य अनुरूप भरतपुरस्थित आरम्भ कलेजले यस वर्षबाट ‘आरम्भ कप’ बास्केटबल प्रतियोगिता सुरुवात गरेको छ । ‘प्रतियोगितालाई वार्षिक क्यालेन्डरमा राखेर निरन्तरता दिने सोचमा छौं,’ आरम्भ कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले भने, ‘यसले खेलाडी उत्पादनमा सघाउनेमा विश्वस्त छु ।’ अन्तर कलेज ‘प्लस टू’ स्तरीय प्रतियोगिताले भएकाले कलिला खेलाडी प्रतिस्पर्धामा छन् । प्रतियोगितामा चितवन र नवलपुरका २४ टिमले सहभागिता जनाएका छन् ।
कलेजका अनुसार विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । सहभागी टिमलाई हौसला बढाउन प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगिताबाट खेलाडी उत्साहित रहेको प्रतियोगिताका संयोजक इन्जिनियर शिरीशजंग कुँवरले बताए । ‘एकअर्कासित खेल्न नपाइरहेको अवस्थामा यो प्रतियोगिता आयोजना भएको छ,’ उनले भने ।
चितवनका ठूला स्कुल र कलेजबाहेक अन्य ठाउँमा बास्केटबल कोर्ट छैनन् । त्यस कारण पनि खेलाडी उत्पादनमा कठिनाइ भइरहेको प्रशिक्षक समेत रहेका सन्देश गुरुङले बताए । ‘बिहानदेखि बेलुकासम्म विद्यालयमा पढाइ हुन्छ,’ उनले भने, ‘त्यहाँ गएर खेल्न सकिँदैन, कोर्टको अभावले पनि प्रतियोगिता गर्न सकिएको छैन ।’
