इनाचोपासा क्रिकेट क्लबलाई उपाधि

इनाचोपासाले आइतबार भएको लिगको अन्तिम खेलमा भक्तपुर म्युनिसिपल क्रिकेट एसोसिएसन (बीएमसी) लाई १ सय २१ रनले पराजित गर्‍यो ।

माघ १८, २०८२

कान्तिपुर संवाददाता

Inachopasa Cricket Club wins title

काठमाडौँ — इनाचोपासा क्रिकेट क्लबले प्रधानमन्त्री कपको भक्तपुर जिल्ला छनोट क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

इनाचोपासाले आइतबार भएको लिगको अन्तिम खेलमा भक्तपुर म्युनिसिपल क्रिकेट एसोसिएसन (बीएमसी) लाई १ सय २१ रनले पराजित गर्‍यो ।

इनाचोपासाले समूह चरणको सबै ३ खेल जितेर विजेता बनेको हो । भक्तपुर क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी), बीएमसी र भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) ले ३–३ खेल खेल्दै १ मा विजय हात पारे । 

ओपनर रिङजिन लामाको ९२ रनमा इनाचोपासाले पूरा ५० ओभर खेली सबै विकेट गुमाई ३ सय १३ रन बनायो । रिङजिनले ६९ बल खेली १४ चौका र ३ छक्का प्रहार गरे । विवेक यादवले ७१ बल खेली ५ चौका र १ छक्काका साथ ५४, सुवास खत्रीले २६ बल खेली ७ चौका प्रहार गरी ४६ र अनुप श्रेष्ठले ५३ बल खेली ७ चौका प्रहार गरी ४५ रन बनाए । बीएमसीका धीरेन्द्र बस्नेत, भूपेन्द्र आचार्य, आकाश गुप्ता र मनमोहन ठाकुरले २–२ विकेट लिए । 

Inachopasa Cricket Club wins title

जवाफमा आएको बीएमसी ३६.२ ओभरमा १ सय ९२ रनमा अलआउट भयो । विशाल देवकोटा ३७ रन बनाई रनआउट भए । ३३ बल खेलेका उनले ७ चौका प्रहार गरे । सन्देशजंग कार्की ३९ बल खेली ३ चौका प्रहार गरी २७, महेश बोहरा २३, कप्तान सौरभ साखकर्मी १९, गौरव पौडेल १७ र सत्यम शाह १६ रनमा आउट भए । आयुष शाक्य १७ रनमा अविजित रहे । 

अविनाश बस्यालले ५ विकेट लिएपछि बीएमसी तहसनहस भएको थियो । अविनाशले १० ओभरमा ३९ रन खर्चेर उत्कृष्ट बलिङ गरे । सुमन हुमागाईंले ९ ओभरमा ३७ रन खर्चेर २ तथा जेशन अधिकारी र कप्तान कृष्ण कार्कीले १–१ विकेट लिए । 

कान्तिपुर

Link copied successfully