दशरथ रंगशालामा भएको खेलमा हात पारेको जितपछि आर्मीको ११ अंक भएको छ र अहिलेसम्म अपराजित पनि रहेको छ ।
What you should know
काठमाडौँ — त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय लिगमा आइतबार श्री भगवतीलाई ३–१ ले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ । दशरथ रंगशालामा भएको खेलमा हात पारेको जितपछि आर्मीको ११ अंक भएको छ र अहिलेसम्म अपराजित पनि रहेको छ ।
आर्मी अगाडि नेपाल एपीएफ क्लब, एनआरटी र मछिन्द्रको समान १२ अंक छ । श्री भगवती भने चार अंकमा सीमित रह्यो । उसले १२ औं मिनेटमा अजित लामाको गोलले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन ।
जिलेप्सीजंग कार्कीले ३४ औं मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए । नवयुग श्रेष्ठले दोस्रो हाफमा दुई गोल थपे । उनले ५८ औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलोपल्ट अग्रता दिलाए । दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा उनले आफ्नो दोस्रो व्यक्तिगत गोल गरे ।
सातदोबाटोको एन्फा कम्प्लेक्समा दिनको पहिलो खेलमा प्लानिङ ब्वाइजले काँक्रे विहारलाई सजिलै ३–० ले हरायो । यो जितपछि प्लानिङ ब्वाइज १० अंकमा छैटौं स्थानमा उक्लिन सफल रह्यो । उसका लागि बबिन बोहराले पाँचौं मिनेटमा गोलको खाता खोले । रोमन भुजेलले १२ औं मिनेटमा दोस्रो गोल थपे । खेलको अन्तिम गोल भने दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा सम्भव भयो । गोल गर्ने खेलाडी हेमन लिम्बू थिए ।
काँक्रे विहारको यो लगातार पाँचौं हार हो । नवजनजागृति पनि शून्य अंकमै छ । दशरथ रंगशालामा दिनको तेस्रो तथा अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्डस क्लबलाई २–१ ले हरायो । यो जितका नायक रहे, नवराज गुरुङ । उनले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा निर्णायक गोल गरे ।
त्यस अगाडि मनाङले नै एन्ड्र्यु इबोको गोलले १२ औं मिनेटमा अग्रता लिएको थियो । प्रशान्त लक्समले ४७ औं मिनेटमा फ्रेन्ड्सका लागि गोल गरेर खेल बराबरीमा ल्याए । लगातार दोस्रो जितपछि मनाङ ६ अंकमा आठौं स्थानमा उक्लेको छ । सुरुआती तीन खेल गुमाएर मनाङले लय समातेको हो । फ्रेन्ड्स भने चार अंकमै सीमित रह्यो । उसको यो लगातार दोस्रो हार हो ।
