यससँगै उनी करियर ग्रान्ड स्लाम पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।
What you should know
मेलबर्न — कार्लोस अल्कारेजले नोभाक जोकोभिचलाई पराजित गर्दै आइतबार पहिलो पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।
यससँगै उनी करियर ग्रान्ड स्लाम पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । अर्कोतर्फ सर्बियाली खेलाडी जोकोभिचको कीर्तिमान २५ औं ग्रान्ड स्लाम जित्ने सपना अधुरै रह्यो ।
सुस्त सुरुआतलाई ओझेलमा पार्दै स्पेनी खेलाडीले आफ्ना ३८ वर्षीय प्रतिद्वन्द्वीलाई २–६, ६–२, ६–३ र ७–५ ले पराजित गरे । रड लेभर एरेनामा प्राप्त यस सफलतापछि उनले जितेको ग्रान्ड स्लामको संख्या सात भएको छ र उनी विश्व टेनिसका निर्विवाद नम्बर १ खेलाडी पनि भएका छन् । आधुनिक टेनिसमा उनी चारै ग्रान्ड स्लाम जित्ने कान्छा खेलाडी पनि भएका हुन् ।
यसअघि उनले विम्बल्डन, फ्रेन्च ओपन र यूएस ओपन सबै दुई–दुईपल्ट जितेका थिए । भर्खर २२ वर्षका अल्कारेजले आफ्नै देशका राफेल नाडाललाई उछिनेर चार ग्रान्ड स्लाम जित्ने सबैभन्दा कान्छा खेलाडी बनेका हुन् । नाडालले यस्तै उपलब्धि २४ वर्षको उमेरमा हात पारेका थिए ।
यस्तै सात ग्रान्ड स्लाम सफलतापछि उनले यत्तिकै उपाधि जितेका जोन म्याकनरो र म्याट्स विलान्डरको बराबरी गरेका छन् । आन्द्रे आगासी, जिमी कोनर्स र इभान लेन्डलले जितेका आठ ग्रान्ड स्लाम जितको प्रदर्शनका लागि उनी एक उपाधिबाट पछाडि छन् । खेलपछि उनले भने, ‘मेलबर्नमा प्रत्येक वर्ष खेल्न आउन पाउनु पनि ठूलै उपलब्धि हो । मैले आफ्नो जिम्मेवारी पनि पूरा गरें, सबै चार ग्रान्ड स्लाम जितेर ।’
उनले थपे, ‘म सबैलाई धन्यवाद पनि दिन चाहन्छुं । सबैले मलाई कठिन समयमा साथ दिएका छन् ।’ उनले जोकोभिचको पनि खुलेर प्रशंसा गरे र भने, ‘सबैले अहिले मैले प्राप्त गरेको उपलब्धिबारे पनि चर्चा गर्न सक्छन् । तर जोकोभिचले अहिले पनि जे गरिरहेका छन्, त्यो सबैका लािग प्रेरणा हुनुपर्छ । यो प्रेरणा टेनिस खेलाडीका लागि मात्र होइन, सबै खेलका लागि खेलाडीकै लागि प्रेरणा हुनुपर्छ ।’
जोकोभिचले भने मेलबर्नमा भएको फाइनलमा हार बेहोरेको यो नै पहिलो पटक हो । यसअघि उनी १० पल्ट फाइनल पुगेकामा सबैमा विजयी रहेका थिए । अस्ट्रेलियाकी मार्गरेट कोर्टलाई उछिनेर कोसेढुंगा २५ ग्रान्ड स्लाम उपाधि जित्नका लागि उनले अझै प्रतीक्षा गर्नुपर्ने भएको छ । जोकोभिचले यसपल्ट पनि उपाधि जितेको भए, उनी सबैभन्दा बढी उमेरमा ग्रान्ड स्लाम जित्ने खेलाडी पनि हुने थिए । उनले सन् २०२३ को यूएस ओपन जितयता थप सफलता हात पार्न सकेका छैनन् ।
हारपछि उनले भने, ‘मैले इमानदारीपूर्वक भन्ने हो भने सायद अब म दोहोर्याएर ग्रान्ड स्लामको फाइनलपछि यसरी बोलिरहेको हुने छैन । पछिल्लो साता जसरी मलाई फाइनलसम्म पुग्न सबैले सहयोग गरे, त्यसका लागि धन्यवाद । अब भोलि नै के हुनेछ, त्यो भगवान्लाई पनि थाहा छ । छ महिना अथवा एक वर्षको कुरा त परको भयो । मैले यसपल्ट जे जति गरें, त्यसमा मलाई गर्व नै रहनेछ ।’
