‘फ्लड लाइट’ मा २५ औं आहा रारा पोखरा गोल्डकप

२७ माघदेखि ९ फागुनसम्म हुने २५ औं आहा रारा पोखरा गोल्डकपमा ४ विदेशीसहित १२ टिम सहभागी हुँदै छन् ।

माघ १८, २०८२

दीपक परियार

25th Aha Rara Pokhara Gold Cup in 'Flood Light'

What you should know

पोखरा — पोखरा रंगशालामा पहिलोपल्ट ‘फ्लड लाइट’ मा फुटबल प्रतियोगिता हुने भएको छ । सहारा क्लबको आयोजनामा हुने २५ औं आहा रारा पोखरा गोल्डकपमा सन्ध्याकालीन खेल खेलाउन ‘पोर्टेबल फ्लड लाइट’ जडान गर्न लागिएको हो ।

२७ माघदेखि ९ फागुनसम्म हुने गोल्डकपमा ४ विदेशीसहित १२ टिम सहभागी हुँदै छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्यांदी क्लब, नेपाल एपीएफ क्लब, प्लानिङ ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब, आयोजक सहारा क्लब, उज्वेकिस्तानको आभा फुटबल क्लब, हङकङको गोर्खा इन्टरनेसनल फुटबल क्लब, भारतका थन्डरबोल्ड नर्थ युनाइटेड (सिक्किम) र अर्को एक टिम सहभागी हुनेछन् । 

सहारा क्लबका अध्यक्ष केशव थापाले आइतबार पत्रकार सम्मेलनमा भारतको टिमलाई पत्राचार गरिसकेको, खेल्न आउने मौखिक जानकारी प्राप्त भएको र औपचारिक पत्र कुरेको जानकारी दिए । उनका अनुसार खेलको पहिलो हाफ उज्यालोमै खेलाइनेछ भने दोस्रो हाफमा मात्रै फ्लड लाइट प्रयोग हुनेछ । अस्थायी फ्लड लाइड ३५ फिट उचाइको छ । यसअघि विराट गोल्डकपमा समेत उक्त फ्लड लाइट राखिएको थियो । फ्लड लाइटको व्यवस्थापन इनरुवाको फूलबारी क्रिकेट क्लबले गर्छ । 

कार्यालय समयपछि खेल हुने भएकाले दर्शक संख्या वृद्धि हुने आयोजकको अपेक्षा छ । ‘पोखरेली दर्शकका लागि यो नयाँ स्वाद पनि हुनेछ,’ अध्यक्ष थापाले भने, ‘सरकारलाई पनि पोखरा रंगशालामा स्थायी फ्लड लाइट राख्न दबाब पुगोस् भन्ने पनि उद्देश्य हो ।’ 

प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको संयोजक पूर्णबहादुर गुरुङले बताए । यस वर्ष आहा रारा गोल्डकपको रजत वर्ष भएकाले प्रतियोगितालाई विशेष बनाइने उनले सुनाए । आयोजकले यस वर्ष पुरस्कार राशि वृद्धि गरेको छ । उपाधि विजेताले १४ लाख र उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्सका प्रबन्ध निर्देशक प्रकाश केसीले निरन्तर रूपमा प्रतियोगितालाई सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully