नियमित कप्तान इन्दु बर्मा गत साता महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको स्कटल्यान्डसँगको निर्णायक खेलमा घाइते भएकी थिइन् ।
What you should know
काठमाडौँ — पूजा महतो राष्ट्रिय महिला क्रिकेट टोलीकी नयाँ कप्तान बनेकी छन् । फेब्रुअरी १३ देखि २२ सम्म थाइल्यान्डमा हुने एसीसी राइजिङ स्टार्स वुमन्स एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार १५ सदस्यीय टोली घोषणा गरेको हो ।
नियमित कप्तान इन्दु बर्मा गत साता महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको स्कटल्यान्डसँगको निर्णायक खेलमा घाइते भएकी थिइन् । कीर्तिपुरमा भएको उक्त खेलमा घाइते इन्दु ८ देखि १२ साता खेल्न नसक्ने भएकाले क्यानले उपकप्तान पूजालाई नेतृत्वदायी भूमिका दिएको हो ।
पूजाले सन् २०२३ को अगस्टमा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेकी थिइन् भने गत वर्ष उपकप्तान बनेकी थिइन् । पूजाकै अर्धशतकमा नेपालले गत साता महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा जिम्बावेलाई पराजित गरेको थियो । ग्लोबल छनोटमा नेपालको यो पहिलो जित पनि रह्यो ।
नेपालले एसीसी राइजिङ स्टार्स एसिया कपमा पाकिस्तान ‘ए’ सँग फेब्रुअरी १३, यूएईसँग फेब्रुअरी १५ र भारत ‘ए’ सँग फेब्रुअरी १७ मा खेल्ने कार्यक्रम छ ।
थाइल्यान्ड भ्रमणका लागि घोषित नेपाली टोलीमा पूजासहित विन्दु रावल, सम्झना खड्का, रुबि पोदार, रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, सीता रानामगर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, मनीषा उपाध्याय, काजल श्रेष्ठ र सिमाना केसी छन् ।
महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट खेलेको टोलीबाट इन्दु, राजमती ऐरी र रचना चौधरी हटेका छन् । उनीहरूको स्थानमा रुबि, अनु र सिमानालाई टोलीमा राखिएको छ । अनु र सिमानाले नेपालबाट ‘डेब्यु’ गर्न बाँकी छ ।
