पोखरा रंगशालाको भलिबल कोर्टमा गण्डकीले विभागीय टोली पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २३–२५ ले गुमाए पनि गण्डकीले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो ।
What you should know
पोखरा — खचाखच भरिएका दर्शकले शनिबार एनसेल छैटौं टाइगर कप भलिबलको फाइनलमा घरेलु टोली गण्डकी प्रदेशको टिमको पक्षमा ‘हुटिङ’ गरे । भलिबलको उर्वर भूमि पोखरामा गण्डकीले दर्शकलाई निराश बनाउन दिएन । पाँचौं संस्करणको हारको बदला लिँदै गण्डकीले पुलिसलाई पराजित गरेर तेस्रोपल्ट च्याम्पियन बनेको छ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा गण्डकीले विभागीय टोली पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो । खेलको सुरुआतमा पहिलो सेट २३–२५ ले गुमाए पनि गण्डकीले उत्कृष्ट पुनरागमन गर्दै पछिल्ला तीन सेट क्रमशः २८–२६, २५–२२ र २५–१७ ले आफ्नो पक्षमा पारेको हो ।
विशेष गरी दोस्रो सेटमा कठिन जित निकालेपछि गण्डकीले खेलमा पूर्ण नियन्त्रण कायम गरेको थियो । यो जितसँगै गण्डकीले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता पुलिसले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँमा चित्त बुझाएको छ । यसअघि पहिलो र चौथो टाइगर कपका उपाधि गण्डकीले जितेको थियो ।
शनिबार नै पर्वत भलिबल संघले प्रभावशाली प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गर्न सफल भयो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पर्वतले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २५–१९, २९–२७ र २५–१३ को सोझो सेटमा पाखा लगायो । तेस्रो स्थान हासिल गरेको पर्वतले २ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरेको छ ।
गण्डकीका पाकिस्तानी खेलाडी मुस्ताफा खान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले २६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरे । गण्डकीबाटै सर्भर अद्नान खान, लिबेरो भीमबहादुर गाहा, सेटर बलराम गुरुङ, ब्लकर फहद राज,
उत्कृष्ट स्पाइकर पर्वत भलिबल संघका पाकिस्तानी खेलाडी फकर वाट्टु, उत्कृष्ट सर्भर गण्डकीका अद्नान खान, उत्कृष्ट सेटर पुलिसका बलराम गुरुङ, उत्कृष्ट ब्लकर गण्डकीका फहद राजा, उत्कृष्ट लिबेरो पुलिसका भीमबहादुर गाहा र उत्कृष्ट प्रशिक्षक गण्डकीका रमेश केसी घोषित भए । उनीहरुले जनही ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरे ।
यसअघि शुक्रबार भएको महिलातर्फको फाइनल खेलमा टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलोपल्ट टाइगर कपको उपाधि चुमेको थियो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा ९ माघदेखि सुरु भएको यस च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीको सहभागिता थियो ।
