दुई खेल जितेकी शिभालीले सेमिफाइनल गुमाइन्

अस्ट्रेलियन ओपनअन्तर्गत जुनियर खेलाडीलाई ग्रान्ड स्लामको अनुभव दिलाउने उद्देश्यले आयोजित एलिट ट्रफीमा नेपालबाट शिभालीले खेल्ने मौका पाएकी थिइन् ।

माघ १६, २०८२

कान्तिपुर संवाददाता

Shivali, who won two matches, lost the semifinals.

What you should know

काठमाडौँ — जुनियर शीर्ष वरीयताकी टेनिस खेलाडी शिभाली गुरुङले मेलबर्नमा भइरहेको एसिया–प्यासिफिक यू–१४ एलिट ट्रफीको सेमिफाइनलमा पराजित भएकी छन् । 

अस्ट्रेलियन ओपनअन्तर्गत जुनियर खेलाडीलाई ग्रान्ड स्लामको अनुभव दिलाउने उद्देश्यले आयोजित एलिट ट्रफीमा नेपालबाट शिभालीले खेल्ने मौका पाएकी थिइन् । एसिया प्यासिफिक क्षेत्रका उत्कृष्ट ८–८ गर्ल्स र ब्वाइज खेलाडी एलिट ट्रफीमा प्रतिस्पर्धारत छन् ।

शिभाली सेमिफाइनल प्लेअफमा बिहीबार आयोजक राष्ट्र अस्ट्रेलियाकी मुसेम्मा सिलेकसँग ६–१, ६–४ ले पराजित भइन् । उनले दोस्रो सेटमा तेस्रो वरीयताकी सिलेकलाई कडा चुनौती पेस गरेकी थिइन् । सिलेकले उपाधिका लागि पहिलो वरीयताकी भारतकी जेन्सी दीपकभाइ कनाबारसँग प्रतिस्पर्धा गर्नेछिन् ।

उनै जेन्सीसँग शिभालीले समूह चरणको एक खेल गुमाएकी थिइन् । उत्कृष्ट प्रदर्शनसहित दुई खेल जितेर शिभाली अन्तिम चारमा पुगेकी थिइन् । शिभालीले अब तेस्रो स्थानको प्लेअफका लागि जेन्जीसँग सेमिफाइनल पराजित जापानकी आओई योसिदासँग खेल्नेछिन् । 

समूह ‘ए’ मा रहेकी शिभालीले चौथो वरीयताकी चिनियाँ जिन झोउलाई प्रतिस्पर्धात्मक खेलमा हराएर मेलबर्नको कोर्टमा सुखद सुरुआत गरेकी थिइन् । उनले ६–४, ३–६, १०–७ ले खेल जित्न सफल भइन् । दोस्रो खेलमा शिभाली भारतीय जेन्सीसँग ६–४, ६–२ ले पराजित भइन् । तेस्रो खेलमा जोस्लिन केविरुद्ध ६–०, ६–१ को सहज जित हात पारेपछि शिभाली सेमिफाइनल पुगेकी थिइन् । आठ खेलाडीलाई दुई समूहमा राखेर प्रतिस्पर्धा गराइएको थियो । 

ब्वाइजतर्फ दक्षिण कोरियाका किम सियुन र अस्ट्रेलियाका टमी कमुस फाइनल पुगेका छन् । गर्ल्स र ब्वाइज दुवैको फाइनल शुक्रबार हुनेछ । 

व्यावसायिक प्रशिक्षणका साथै प्रतियोगितामा भाग लिने युवा खेलाडीहरूले अस्ट्रेलियन ओपनमा ग्रान्ड स्लाम खेलहरू हेर्ने र विश्वका शीर्ष खेलाडीलाई भेट्न मौका दिने उद्देश्यमा एलिट ट्रफी सुरुआत गरिएको टेनिस अस्ट्रेलियाले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully