पोखरामा शनिबारदेखि साफ यू–१९ महिला च्याम्पियनसिप : घरेलु मैदानमा उपाधि जित्ने दाउ

दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको यो प्रतियोगिता सन् २०१९ मा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि पोखरा रंगशालामा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो ।

माघ १६, २०८२

दीपक परियार

SAFF U-19 Women's Championship from Saturday in Pokhara: Winning the title on home soil is the goal

What you should know

पोखरा — पोखरा रंगशालामा शनिबारदेखि सुरु हुने साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपका लागि सहभागी चारवटै राष्ट्रले आफ्नो तयारी पूरा गरिसकेका छन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको यो प्रतियोगिता सन् २०१९ मा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि पोखरा रंगशालामा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको यस प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता रहनेछ । शुक्रबार पोखरामा आयोजित प्रि–म्याच कन्फेरेन्समा चारवटै टोलीका प्रशिक्षक र कप्तानले आफ्ना टिम प्रतियोगिताका लागि पूर्ण तयारी अवस्थामा रहेको बताएका छन् ।

राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुने यस प्रतियोगितामा प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछन् । लिग चरणपछि शीर्ष दुई टोलीबीच २४ माघमा फाइनल खेल हुनेछ । च्याम्पियनसिपको उद्घाटन खेल शनिबार दिउँसो १२ बजे बंगलादेश र भुटानबीच हुनेछ । शनिबार नै दिउँसो ३ बजे आयोजक नेपालले भारतसँग खेल्नेछ । लिग चरणका बाँकी खेलहरू १९ देखि २१ माघसम्म सञ्चालन हुनेछन् । प्रत्येक दिन दुई–दुई खेल हुनेछन् । दर्शकको सहजताका लागि एन्फाले सामान्य प्यारापिटमा २ सय रुपैयाँ र भीआईपी प्यारापिटमा ५ सय रुपैयाँको टिकट मूल्य निर्धारण गरेको छ ।

घरेलु मैदानमा आयोजना हुने यस च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य नेपाली टोलीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले राखेका छन् । ‘खेलाडीले प्रशिक्षणका क्रममा धेरै सुधार गरेका छन्,’ शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हाम्रो लक्ष्य उपाधि घरमै राख्ने छ ।’

तयारीको अवधि छोटो भए पनि राम्रो तयारी भएको उनको भनाइ छ । काठमाडौंमा प्राकृतिक मैदानमै प्रशिक्षण गरेकाले पोखराको मैदानमा समस्या नहुने उनको आकलन छ । प्रतियोगितामा सहभागी सबै टिम बलियो भए पनि भारतलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरेको उनले बताए । ‘पहिलो म्याच राम्रो भयो भने अरू म्याच राम्रो हुन्छ । यसभन्दा अगाडि जस्तो रिजल्ट आए पनि यसपल्ट फरक रिजल्ट ल्याउन कोशिष गर्नेछौं,’ उनले भने, ‘धेरैजसो यू–१७ का खेलाडी लिएर खेलेका छौं । सबै खेलाडी सकारात्मक माइन्डसेटमा छन् ।’

कप्तान सुशीला केसीले घरेलु मैदानमा प्रतियोगिता हुनु नेपालका लागि फाइदाजनक भएको बताइन् । ‘घरेलु मैदानमा हुनु हाम्रा लागि प्लस प्वाइन्ट हो । यसपल्ट राम्रो रिजल्ट लिएर आउने आश लिएर अगाडि बढेका छौं,’ उनले भनिन्, ‘छोटो समयमा पनि हामीले धेरै कुरामा सुधार गरेका छौं । खेलाडीहरू कडा परिश्रमी र उत्प्रेरित छन् ।’

एन्फाले गत पुसमा महिला यू–१९ टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुमन श्रेष्ठलाई दिएको थियो । घरेलु फुटबलका अनुभवी प्रशिक्षक सुमनले पछिल्लो समय ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडको प्रशिक्षण सम्हालेका थिए । यसअघि उनले मनाङ मर्स्याङ्दी, हिमालयन शेर्पा, नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी पोखरा थन्डर्स र भुटानी क्लब फुएन्सोलिङ हिरोज एफसीलाई प्रशिक्षण दिएको अनुभव राख्छन् ।

उनको नेतृत्वमा टोलीले तीन साता काठमाडौंमै प्रशिक्षण गर्‍यो । उनले नेपाली टोली निर्माण गर्ने क्रममा यू–१७ का अनुभवी खेलाडी समावेश गरेका छन् । गत संस्करणमा सहभागी सुशीला केसी, सेनु परियार, माया मास्के र वर्षा ओलीले यसपल्ट पनि खेल्नेछन् । यी चारजना नेपाली टोलीमा सर्वाधिक अनुभवी खेलाडी हुन् जसले नियमित रूपमा राष्ट्रिय उमेर समूहबाट खेलिरहेका छन् ।

नेपाली महिला फुटबलको उमेर समूहमा हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेको इतिहास बदल्ने लक्ष्यका साथ नेपाली यू–१९ टोली शनिबारदेखि घरेलु मैदानमा उत्रिँदैछ । यो संस्करण नेपालका लागि आफ्नो बिर्सनलायक इतिहास सुधार्ने महत्त्वपूर्ण अवसर बनेको छ ।

यसअघि तीनपल्ट फाइनलसम्मको यात्रा तय गरे पनि नेपाल तीनैपल्ट उपविजेतामा खुम्चिएको थियो । विशेष गरी सन् २०१८ र २०२३ को फाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदा उपाधिबाट विमुख भएको थियो । दक्षिण एसियाली क्षेत्रमा बंगलादेश सर्वाधिक सफल टोली हो, जसले पाँचपल्ट उपाधि जितेको छ भने भारतले दुईपल्ट उपाधि चुमेको छ ।

घरेलु मैदान र सीमित टोलीको फाइदा

यसपल्ट प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान गरी चार राष्ट्र मात्र सहभागी छन् । श्रीलंका, पाकिस्तान र माल्दिभ्सले आन्तरिक कारण देखाउँदै सहभागिता नजनाएपछि नेपाललाई उपाधि जित्न केही सहज हुने अनुमान गरिएको छ । यद्यपि, बलिया प्रतिद्वन्द्वी भारत र बंगलादेशलाई पाखा लगाउनु नेपालका लागि मुख्य चुनौती हुनेछ ।

साफका महासचिव पुरुषोत्तम कट्टेलले भने, ‘नियमअनुसार सातै राष्ट्रले भाग लिनुपर्ने हो तर तीन राष्ट्रले आन्तरिक समस्या देखाउँदै नाम फिर्ता लिए । यद्यपि, यसले प्रतियोगिताको प्रतिस्पर्धात्मकतामा खासै असर गर्ने छैन ।’

काठमाडौंमा राष्ट्रिय लिग फुटबल चलिरहेका कारण दशरथ रंगशाला उपलब्ध नभएपछि एन्फाले यो प्रतियोगिता पोखरामा सारेको हो । एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले पोखरालाई अन्तर्राष्ट्रिय फुटबलको ‘हब’ बनाउने लक्ष्यका साथ अघि बढेको बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले घरेलु टोलीलाई समर्थन गर्न देशभरका फुटबलप्रेमी पोखरा आउने विश्वास व्यक्त गरे ।

एन्फाका प्रवक्ता सुरेश शाहले तयारीबारे जानकारी दिँदै भने, ‘सबै तयारी पूरा भइसकेको छ । सहभागी टोलीको प्रशिक्षणका लागि लामाचौरस्थित गोस्ते खेलमैदान व्यवस्था गरिएको छ ।’ यो प्रतियोगिता सम्पन्न गर्न आयोजकले करिब २ करोड ४५ लाख १५ हजार २९० रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।

यसपल्ट प्रतियोगिता ‘सिंगल राउन्ड रोबिन’ लिगका आधारमा सञ्चालन हुँदैछ । ६ खेलपछि तालिकाको शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिद्वन्द्वी टोलीले पनि पोखरामा बलियो प्रदर्शन गर्ने दाबी गरेका छन् । बंगलादेशका प्रशिक्षक पिटर बटलर र कप्तान अर्पिता विश्वासले यो प्रतियोगितालाई नयाँ खेलाडीका लागि ठूलो एक्सपोजरका रूपमा लिएका छन् । भारतकी प्रशिक्षक पामेला कोन्टीले टोलीमा अधिकांश १७ वर्षमुनिका खेलाडी भए पनि टोली सन्तुलित र मजबुत रहेको बताइन् । भुटानकी प्रशिक्षक टंका माया घल्लीले तयारीबाट आफू सन्तुष्ट रहेको र टोली उत्साहित रहेको उल्लेख गरिन् । 

साफले उमेर समूहका प्रतियोगिताहरू फरक–फरक फर्म्याटमा आयोजना गर्दै आएको छ । गत संस्करण यू–२० फर्म्याटमा बंगलादेशमा आयोजना भएको थियो, जहाँ बंगलादेशले नै उपाधि जितेको थियो । यसपल्ट यू–१९ फर्म्याटमा नेपालले आफ्ना अनुभवी र नयाँ खेलाडीको मिश्रणसहित मैदानमा उत्रने तयारी गरेको छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully