त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा ब्याटिङका क्रममा ५ रन बनाउँदा घाइते भएर क्रिज छाडेकी कप्तान इन्दु पुनः ब्याटिङमा आइनन् ।
काठमाडौँ — नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले २ देखि ३ महिना खेल्न नसक्ने नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जनाएको छ । महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा सोमबार स्कटल्यान्डविरुद्धको निर्णायक खेलमा इन्दु घाइते भएकी थिइन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा ब्याटिङका क्रममा ५ रन बनाउँदा घाइते भएर क्रिज छाडेकी कप्तान इन्दु पुनः ब्याटिङमा आइनन् । ‘रिटायर्ड हर्ट’ भएकी उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर ल्याएर अस्पताल लगिएको थियो । इन्दुलाई ग्रेड टु ह्यामस्ट्रिङ स्ट्रेन भएकाले ८ देखि १२ साता खेल्न नसक्ने क्यानले जनाएको छ ।
इन्दु नेपालबाट महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन् । उनले ८२ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ हजार ८० रन बनाइसकेकी छन् । सोक्रममा उनले ४० विकेट पनि लिएकी छन् ।
इन्दु ३ वर्षअघि नेपालको कप्तान बनेकी थिइन् । त्यसयता उनले ३८ खेलमा कप्तानी गरिसकेकी छन्, जसमा नेपालले १६ खेल जितेको छ भने २२ मा हार भोगेको छ ।
