च्याम्पियन्स लिगमा इंग्लिस टिमको वर्चस्व

डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल म्याड्रिड भने शीर्ष आठमा रहन असफल रहे ।

माघ १६, २०८२

एएफपी

English teams dominate the Champions League

What you should know

पेरिस — लिभरपुल, म्यानचेस्टर सिटी र बार्सिलोनाले बुधबार युरोपेली च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा सिधै प्रवेश पाएका छन् । 

डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल म्याड्रिड भने शीर्ष आठमा रहन असफल रहे । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले कोराबागलाई एनफिल्डमा ६–० ले हरायो । टोली ३६ टिमसम्मिलित प्रतियोगिताको तेस्रो स्थानमा रहेको छ । शीर्ष दुईमा रहेका आर्सनल र बायर्न म्युनिख यसअघि नै अन्तिम १६ मा पुगिसकेका छन् ।

आर्सनलले किराट अल्माटीलाई ३–२ र बायर्नले आइन्डहोभनलाई २–१ ले हराए । टोटनहम, बार्सिलोना, चेल्सी, स्पोर्टिङ लिस्बन र सिटी शीर्ष आठमा रहेका छन् । पीएसजी भने न्युकासल युनाइटेडको हातबाट १–१ को बराबरीमा रोकिएपछि प्लेअफ खेल्नुपर्ने अवस्थामा पुगेको हो । कीर्तिमान १५ पल्टको विजेता रियलले पनि प्लेअफ खेल्नुपर्नेछ । यसको कारण रह्यो, पूर्व प्रशिक्षक जोसे मोउरिन्होको नेतृत्वमा रहेको बेन्फिकासँग ४–२ को हार । 

यो खेल आफैंमा नाटकीय रह्यो, किनभने खेलको ९८ औं मिनेटमा बेन्फिका गोलरक्षक एनाटोली टुरबिनले एक गोल गरेका थिए । 

एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि एलेक्स म्याक एलिस्टरले गोलको खाता खोलेपछि फ्लोरिन विर्टजले दोस्रो गोल थपेका थिए । त्यसपछि मोहम्मद सलाह र ह्युगो एकिटिकेले एक–एक गोल थपेका थिए । एलिस्टरको दोस्रो व्यक्तिगत गोलपछि अन्तिम गोल फेडेरिको सिसाले छैटौं गोल गरे । खेलपछि एलिस्टरले भने, ‘लिभरपुल यस्तो जितका लागि हकदार छ । हामी यस्तो प्रदर्शन दिन सक्षम पनि छौं ।’ 

सन् २०२३ को विजेता सिटीले गालाटासरेलाई २–० ले हरायो । त्यसमा इर्लिङ हालान्ड र रायन चेर्कीले एक–एक गोल गरेका थिए । नोउ क्याम्पमा बार्सिलोनाले कोपनहेगनलाई ४–१ ले हरायो । यो टोलीको पुनरागमन जित रह्यो । जितले बार्सिलना अंक तालिकाको छैटौं स्थानमा पुग्यो । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की, लामिन यामल, राफिन्हा र मार्कस रसफोर्डले गोल गरे । त्यसअघि कोपनहेगनले १७ वर्षीय खेलाडी भिक्टर डाडसनको गोलमा अप्रत्यासित अग्रता लिएको थियो । 

टोटनहमले भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको फ्रान्कफर्टलाई २–० ले पराजित गरेको थियो । त्यसमा गोल गर्ने खेलाडी रान्डल कोलोमुनी र डोमिनिक सोलान्के थिए । चेल्सीले इटालीको च्याम्पियन नेपोलीलाई ३–२ पराजित गरेको थियो । यो नतिजाले प्रतियोगितामा इंग्लिस टिमको प्रत्यक्ष वर्चस्वलाई प्रमाणित गरेको थियो । लिस्वनले एथलेटिक बिल्बाओलाई ३–२ ले हरायो ।

एएफपी

Link copied successfully