बर्दिबासमा भुवन च्याम्पियन

बर्दिबासस्थित पार–७२ को मिथिला नगरी आर्मी गल्फ क्लबमा भुवनले २ अन्डर ७० को स्कोरसहित कुल ९ अन्डर २ सय ७ स्कोरमा उपाधि जिते ।

माघ १६, २०८२

कान्तिपुर संवाददाता

Bhuvan champion in Bardibas

What you should know

महोत्तरी — भुवन नगरकोटीले सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । बर्दिबासस्थित पार–७२ को मिथिला नगरी आर्मी गल्फ क्लबमा भुवनले २ अन्डर ७० को स्कोरसहित कुल ९ अन्डर २ सय ७ स्कोरमा उपाधि जिते ।

भुवनले नेपाल नम्बर एक प्रो नीरज तामाङसँगै टंकबहादुर कार्की र भुवनकुमार रोक्कालाई १० स्ट्रोकले पछि पारेर करियरको १२ औं उपाधि जितेका हुन् । उनले १ लाख ७० हजार रुपैयाँसहित ट्रफी जिते । नीरजले इभन पार ७२ को स्कोर निकाल्दा टंक र भुवनले २ ओभर ७४ मा अन्तिम दिनको खेल टुंग्याए । समग्रमा १–ओभर २ सय १७ को नतिजामा संयुक्त दोस्रो स्थान बाँडे । उनीहरूले जनही १ लाख २ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पाए ।

जयराम श्रेष्ठले २ अन्डर ७० र धनबहादुर थापा १ अन्डर ७१ सहित समग्रमा २ ओभर २ सय १८ को स्कोरबाट संयुक्त पाँचौं स्थानमा रहे । दुवैले ६८ हजार पाए । दिनेश प्रजापतिले इभन पार ७२ खेल्दा ४ ओभर २ सय २० को स्कोरसहित सातौं स्थान प्राप्त गरे । उनले ५७ हजार पाए । कुमार कामीले १ ओभर ७३ खेल्दै समग्रमा ५ ओभर २ सय २१ स्कोरसहित आठौं स्थानमा रहे । उनले ५१ हजार प्राप्त गरे ।

सुमन परियार र सञ्जय लामा ६ ओभर २ सय २२ स्कोरसहित संयुक्त नवौं स्थानमा रहे । दुवैले ४४ हजार पाए । रवि खड्का र बलभद्र राईले समग्रमा २ सय २५ स्कोरसहित ११ औं स्थान बाँडे । उनीहरूले समान ३६ हजार ५ सय रुपैयाँ पाए । एमेच्योरतर्फ सुन्दर राईले उपाधि जिते । उनले इभन पार ७२ खेल्दै समग्रमा ५ ओभर २ सय २१ स्कोरसहित प्रकृत तामाङलाई १६ स्ट्रोकले पछि पारे । २१ ओभर २ सय ३७ स्कोरसहित प्रकृत दोस्रो भए ।

विजेता भुवनले फ्रन्टनाइन १ अन्डर ३५ खेले । तेस्रो र पााचाौ होलमा बर्डी प्रहार गरेका उनले चौथो होलमा एक सट खेर फाले । यसपछि ११, १५ र १६ औं होलमा बर्डीको सफलता प्राप्त गर्दा १३ र १४ औं होलमा बोगी खेप्दै ब्याकनाइन पनि १ अन्डर ३५ खेले । टंकले भने फ्रन्ट र ब्याकनाइन दुवै १ ओभर ३७ मा सकाए । दोस्रो होलमा बर्डी प्रहार गरेका उनले पाँचौं र आठौं होलमा बोगीको सामना गरे ।

यसपछि ब्याकनाइनमा १४ औं होलमा एक सट खेर फाले । भुवनकुमार रोक्काले भने पाँचौं होलको बोगीविरुद्ध आठौं होलको बर्डीले इभन–पार ३६ खेले । यसपछि १० औं होलामा बर्डी प्रहार गरेका उनले ११, १४ र १८ औं होलामा बोगी खेप्दै ब्याक नाइन २ ओभर ३८ मा सके ।

विजयी खेलाडीलाई मधेश प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्ण, मध्यपूर्वी पृतनाका पृतनापति उपरथी कृष्णबहादुर जीसी र सूर्य नेपाल प्रालिका कर्पोरेट उपाध्यक्ष रवि केसिले पुरस्कार वितरण गरे । सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल पीजीएद्वारा आयोजित ५४ होलको प्रतियोगितामा ३० प्रो र ६ एमेच्योर गल्फरको सहभागीता थियो ।

कान्तिपुर

Link copied successfully