पोखरा रंगशाला कभर्डहलमा बुधबार पुलिसले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई सोझो सेटमा पराजित गरेको थियो ।
What you should know
काठमाडौँ — एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा महिलातर्फ नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ । पुलिसले समूह उपविजेता बन्दै उपाधिका लागि न्यु डायमन्ड स्पोर्ट्स क्लबसँगको भेट पक्का गरेको हो ।
पोखरा रंगशाला कभर्डहलमा बुधबार पुलिसले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई सोझो सेटमा पराजित गरेको थियो । सुरुदेखि नै वर्चस्व कायम गरेको पुलिसले २५–१६, २५–१३, २५–१९ को नतिजा निकालेको थियो । खेलमा पुलिसकी मीना सुनार उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच बनिन् । पुलिसको समग्र टिमवर्क र व्यक्तिगत प्रदर्शन उत्कृष्ट रह्यो । मीनाको स्पाइकिङ र ब्लकिङको प्रदर्शनले महत्त्वपूर्ण भूमिका खेल्यो ।
यद्यपि पुलिसको फाइनल यात्रा आफ्नै प्रदर्शनमा मात्र निर्भर थिएन । समूह चरणको अन्तिम खेलमा न्यु डायमन्डले थाइल्यान्ड क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेपछि पुलिसको फाइनल यात्रा सुनिश्चित भएको हो । न्यु डायमन्डले २५–२१, २५–२३, २५–२० को सेटमा हराएर अपराजित यात्रा जारी राख्यो ।
यदि थाइल्यान्डले यो खेल सोझो सेटमा जितेको भए टोली फाइनलमा पुग्ने थियो । तर न्यु डायमन्डको सानदार प्रदर्शनले पुलिसलाई फाइनलको अवसर प्रदान गर्यो । पुलिसले ४ खेलबाट ७ अंक जोडेको थियो, जबकि थाइल्यान्डले ३ खेलबाट ६ अंक जोडेको थियो । अंक तालिकामा न्यु डायमन्ड शीर्षस्थानमा रह्यो । न्यु डायमन्डले ४ खेलबाट १२ अंक जोड्यो । एपीएफ ५ अंक जोड्दै चौंथो स्थानमा रह्यो । भने आर्मी जितविहीन रहँदै पुछारमा रह्यो ।
बुधबारै पुरुषतर्फ पनि पुलिसले एपीएफविरुद्ध सहज जित निकालेको छ । पुलिसले २५–२२, २८–२६, २५–१५ ले जित निकाल्यो ।
