अब फाइनल पुग्नका लागि डिफेन्डिङ च्याम्पियन यानिक सिनरसँग भिड्ने छन् । लोरेन्जो मुसेटी घाइते हुँदै खेल परित्याग गर्न बाध्य भएपछि जोकोभिचको भाग्य खुलेको हो ।
What you should know
मेलबर्न — नोभाक जोकोभिच जसरी मंगलबार अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन्, त्यसलाई आफू भाग्यमानी रहेको उनले स्वीकारेका छन् । सर्बियाली खेलाडी १३ औं पटक यो प्रतियोगिताको अन्तिम चारमा पुगेका हुन् ।
अब फाइनल पुग्नका लागि डिफेन्डिङ च्याम्पियन यानिक सिनरसँग भिड्ने छन् । लोरेन्जो मुसेटी घाइते हुँदै खेल परित्याग गर्न बाध्य भएपछि जोकोभिचको भाग्य खुलेको हो ।
त्यसअघि महिलातर्फ जेसिका पुगेला र एलेना रेबकिना सिधा सेटमा सजिलो जित निकाल्दै सेमिफाइनल पुगे । अब उनीहरूबीच नै फाइनल पुग्न प्रतिस्पर्धा चल्नेछ ।
रड रेभर एरिनामा भएको दुई सेट पूरा भएको खेलमा मुसेट ६–४, ६–३, १–३ ले अगाडि थिए । तर त्यहीं उनी घाइते भए र ३८ वर्षीय जोकोभिचसामु कीर्तिमान २५ औं पटक ग्रान्ड स्लाम जित्ने अवसरको बाटो खुलेको थियो ।
कोर्टमै बायाँ खुट्टाको उपचार चल्नु अगाडि पाँचौं वरीयताका मुसेट खेलमा पूर्णतः हाबी थिए । तर खेल अगाडि बढाउन नसकेपछि उनले दुर्भाग्यपूर्ण रूपमा खेलबाट हात उठाए । त्यसपछि जोकोभिचले भने, ‘मैले अहिले उनका लागि निकै खराब अनुभव गरिरहेको छु । आजको खेलमा उनी धेरै अर्थमा उत्कृष्ट थिएँ । म त आफ्नो घर फर्कने बाटोमा थिएँ । यस्तो घटना मेरो खेलजीवनमा पनि भएको छ । भन्नुपर्दा खेल उनै पक्षमा थियो, जे भयो निकै दुःखद भयो ।’
जोकोभिचले थपे, ‘आजको खेल जित्नुपर्ने मुसेटीले नै हो, यसमा कुनै शंका छैन । म सेमिफाइनल पुगें, किनभने मलाई भाग्यले मात्र साथ दियो ।’ सन् २०२३ मा अन्तिम ग्रान्ड स्लामका रूपमा युएस ओपन जितेका जोकोभिच मार्गरेट कोर्टलाई उछिनेर कीर्तिमान २५ औं पटक ग्रान्ड स्लाम जित्ने अभियानमा छन् । सिनरसँगै नम्बर एक खेलाडी कार्लोस अल्कारेजको उदयले जोकोभिचको यो अभियानलाई भने कठिन बनाएको छ ।
इटालीको दोस्रो वरीयताका सिनरले अर्को अन्तिम आठको खेलमा अमेरिकाका आठौं वरीयताका बेन सेल्टनलाई ६–३, ६–४, ६–४ ले हराए । सिनर जोकोभिचविरुद्धका पछिल्ला पाँच खेलमा विजयी छन् । जितपछि सिनरले भने, ‘सेल्टनविरुद्धको खेल कुनै पनि अर्थमा सजिलो रहेन । उनको खेलमा प्रत्येक वर्ष सुधार आएको छ । म जसरी सेमिफाइनल पुगेको छु, त्यसमा म खुसी छु ।’ प्रतियोगिताको अर्को सेमिफाइनलमा अल्कारेज र तेस्रो वरीयताका एलेक्जान्डर जेभरेभ भिड्दै छन् ।
महिलातर्फ मस्कोका जन्मेकी काजाक खेलाडी रेबकिनले भने दोस्रो वरीयताका इगा स्वाटिकलाई ७–५, ६–१ ले हराइन् । पेगुलाले अमेरिकाकी अमान्डा एनिसिमोभालाई ६–२, ७–६ ले पराजित गरिन् । अर्को सेमिफाइनलमा दुईपल्टकी च्याम्फियन आर्यना सबालेन्काले युत्रेनी एलिना स्भिटलोनाको सामना गर्नेछिन् । हारले स्वाटिकको चारै ग्रान्ड स्लाम जित्ने अभियान फेरि एकपल्ट टुटेको छ । उनले यसअघि विम्बल्डन, फ्रेन्च ओपन र युएस ओपन जितिसकेकी छन् ।
