फागुरामको दुई गोलमा प्लानिङ ब्वाइजको पुनरागमन

अपराजित त्रिभुवन आर्मी क्लबको ४ खेलबाट ८ अंक, शीर्षस्थानमा लालीगुराँसको अग्रता कायमै

माघ १४, २०८२

हिमेश

Planning Boys make comeback with two goals from Phaguram

What you should know

काठमाडौँ — प्लानिङ ब्वाइजले मंगलबार राष्ट्रिय लिग फुटबलमा त्यस्तो जित निकालेको छ, जसलाई सानदार पुनरागमनभन्दा हुन्छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा प्लानिङ ब्वाइज सुरुमा एक गोलले पछाडि परेको थियो ।

त्यसपछि समान दुई गोलको बराबरी भयो । त्यसपछि खेलको दृश्यमा छाए, फागुराम थारु । उनले दुई गोल गरेपछि प्लानिङ ब्वाइज टिम सातदोबाटोविरुद्ध ३ अंक बटुल्न सफल रह्यो । सातदोबाटोले २१ औं मिनेटमा बोबिरसोह सोबिरोभको गोलले खेलमा अग्रता लिएको थियो । 

बराबरी गोल फर्काउन प्लानिङ ब्वाइजले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेट कुर्नुपरेको थियो । एलेक विलेनले बराबरी गोल गरेका हुन् । त्यसपछि रोमन भुजेलले ६३ औं मिनेटमा गोल गर्दै प्लानिङ ब्वाइजलाई पहिलो पटक अग्रता दिलाए । खेलले ६९ औं मिनेट छुँदा फोडे फोफानाले सातदोबाटोका लागि गोल गरेपछि खेल पुनः बराबरीमा पुगेको थियो ।

त्यसपछि ७४ औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा फागुराम मैदानमा छिरे । त्यसको पाँच मिनेटपछि ७९ औं मिनेटमा फागुरामले आफ्नो पहिलो गोल गरे । लगत्तै ८३ औं मिनेटमा उनले आफ्नो दोस्रो गोल पनि थपे । यससँगै प्लानिङ ब्वाइजको जित निश्चित भयो । प्लानिङ ब्वाइजलाई ‘ए’ डिभिजनसम्म पु¥याउन ठोस योगदान गरेका फागुरामको प्रशिक्षक सन्जित सिंहले खुलेर प्रशंसा गरे । उनले भने, ‘फागुराम हाम्रा लागि महŒवपूर्ण खेलाडी हुन् । अहिले उनी चोटमुक्त भएर मैदानमा फर्केका छन् । अब उनी फिट छन् ।’

फागुरामले प्रतियोगिताको सुरुआती दुई खेल खेलेका थिएनन् । तेस्रो खेलयता उनी मैदानमा फर्केका हुन् । खेलपछि सातदोबाटोका प्रशिक्षक बालगोपाल साहुखलले भने, ‘यो खेलमा हाम्रो तुलनामा प्लानिङ ब्वाइज राम्रो साबित भयो । पहिलो हाफसम्म हाम्रो प्रदर्शन ठीक रह्यो । दोस्रो हाफमा हाम्रो प्रदर्शन त्यस्तै रहेन, अव्यवस्थित देखियो । रक्षापंक्तिमा केही कमजोरी रहे ।’

लालीगुराँस शीर्षमा 

लालीगुराँस एसोसिएसन क्लब र त्रिभुवन आर्मी क्लबबीच भएको दिनको पहिलो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । दुवै टिमले केही आक्रमण बुने पनि ती निर्णायक हुन सकेनन् । विशेषतः लालीगुराँसका लागि लक्षु थापा गोलको निश्चित अवसरमा चुकेका थिए । यो नतिजाले लालीगुराँसको लगातार जित यात्रा टुंगिएको छ । तर प्रभावशाली प्रदर्शन गरिरहेको पोखरेली टिमको अपराजित यात्रा भने चौथो खेल पुगेको छ । टोलीको १० अंक भएको छ । यससँगै लालीगुराँस शीर्षस्थानमा रह्यो । 

आर्मी अपराजित रहे पनि ४ खेलबाट ८ अंकमात्र भएको छ । त्यसैले यो नतिजा टोलीका लागि घाटाको प्रदर्शन रहनेछ । त्यस अर्थमा लालीगुराँसका प्रशिक्षक किरण श्रेष्ठ एक हदसम्म सन्तुष्ट देखिए । उनले भने, ‘हाम्रो उद्देश्य जित वा बराबरी थियो । हामी अंक नगुमाउने योजनामा थियौं ।’ आर्मीका प्रशिक्षक बालगोपाल महर्जनले ठीकै भने, दुई अंक गुमाएको स्थिति रह्यो आफ्ना लागि । उनले के पनि माने भने आर्मीले आपूmले सक्दो पनि खेल्न सकेन । 

उनको मुख्य गुनासो भने खेल तालिकातर्फ रह्यो । उनले भने, ‘सुरुको खेल तालिकाअनुसार यो खेल च्यासल मैदानमा हुनुपर्ने थियो र त्यसअनुसार नै तयारी गरेका थियौं । तर खेल तालिकामा एकाएक परिवर्तन भयो र हामीसँग त्यसअनुसार योजना बनाउने समय नै रहेन ।’ उनले के पनि दाबी गरे भने अब त सातदोबाटोको मैदान पनि फुटबल खेल्न उपयुक्त रहेन । यो त समय गुज्रिसकेको मैदान मात्रै हो ।

हिमेश

Link copied successfully