परोपकारी धावक भन्छन्, ‘अरूका लागि बाँचे पो जिन्दगी’

दौडिन थालेको पाँच वर्षमा विश्वका दुई दर्जनभन्दा बढी म्याराथनमा सहभागी भइसकेका छन् । दौडेर उनलाई न कीर्तिमान कायम गर्नुछ, न त कसैको कीर्तिमान भंग गर्नु नै । आउँदो शनिबार उनी नेपाली दौरा-सुरुवाल लगाएर ‘द वर्ल्ड म्याराथन च्यालेन्ज’ मा सहभागी हुँदैछन् ।

माघ १४, २०८२

रञ्जना बिसी

Philanthropic runner says, 'Live your life for others'

What you should know

कैलाली — उनी दौडिरहन्छन् । स्पर्धा जित्न होइन । शरीर तङ्ग्रयाउनु पनि छैन । एक्लै होइन, थुप्रै साथी बटुलेर दौडाउँछन् । विश्वमा जहाँ म्याराथन आयोजना हुन्छन्, त्यहीँ पुग्छन् । त्यसो भए ४२ वर्षीय बाल जोशी किन दौडिरहेका छन् ? उनी यसरी दौडिनुको एउटै कारण परोकार हो । यस्ता दौडबाट केही आर्जन गरेर असहायलाई उनी निरन्तर सघाइरहेका छन् ।

जोशी अहिले अमेरिकाको १ सय २५ वर्ष पुरानो ह्यांकक ह्वीट्नी बैंकको सिनियर भाइस प्रेसिडेन्ट छन् । उनको पेसा बैंकर भए पनि यत्तिमै सीमित छैनन् । अमेरिकामा परोपकारी धावकका रूपमा चिनिएका छन् । धेरैले द रनिङ मंक (दौडिरहने भिक्षु) भनेर चिन्छन् । संसारभरिका दुई दर्जनभन्दा बढी म्याराथनमा सहभागिता जनाइसकेका छन् । 

यसपटक चुनौतीपूर्ण ‘द वर्ल्ड म्याराथन च्यालेन्ज’मा सहभागी हुँदैछन् । यसपालि नेपाली पोसाक दौरा–सुरुवाल पहिरिएर दौडिँदैछन् । दौरा–सुरुवालमा म्याराथनमा भाग लिने जोशी पहिलो नेपाली हुनेछन् । उनीसँगै ‘द वर्ल्ड म्याराथन च्यालेन्ज’ मा १८ देशका २६ जनाले भाग लिँदैछन् । यो म्याराथन अरूभन्दा भिन्न छ । सातवटा ‘थिम’ मा सात महाद्वीपमा सात दिनसम्म सञ्चालन हुँदैछ । त्यसैले यसलाई ‘७७७’ नाम दिइएको हो । 

मलाई दौडमा कसैलाई उछिन्नु छैन, दौडिनुको उद्देश्य सेवा हो : बाल जोशी‘द वर्ल्ड म्याराथन च्यालेन्ज’ आउँदो शनिबार अर्थात् ३१ जनवरी २०२६ देखि अन्टार्टिकाबाट सुरु हुँदैछ । समापन अमेरिकाको मायामीमा हुनेछ । जोशीका अनुसार पहिलो दिन अन्टार्टिकाको कठ्यांग्रिँदो चिसोमा ४२ दशमलव १९५ किलोमिटर दौडिने कार्यक्रम छ । ‘दोस्रो दिन साउथ अफ्रिकाको केप टाउनमा दौड हुनेछ । तेस्रो दिन धावकहरू अस्ट्रेलियाको पर्थ पुगेर कुद्नेछन् । चौथौ दिन दुबई, पाँचौं दिन स्पेनको म्याड्रिड, छैटौं दिन साउथ अमेरिकाको ब्राजिलमा दौड हुनेछ,’ जोशीले भने, ‘अन्तिम दिन अमेरिकाको मायामीमा दौडिनेछौं ।’
जोशीको बाल्यकाल अभावमै बित्यो । १५ वर्षकै उमेरमा बुवाको निधन भएपछि आमाले कष्टसाथ उनलाई हुर्काइन् र पढाइन् । सुर्खेतको कुइनेबाट प्राथमिक तह पार गरे । त्यसपछि अछामको विनायक फर्किएर प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे । गाउँमै उच्च शिक्षा पढ्न क्याम्पस थिएन । त्यसले बाँकेको नेपालगन्ज झरे । त्यहाँ आईएस्सी भर्ना भएर पढाइसँगै पत्रकारिता सुरु गरे । यही अवधिमा नेपालगन्जस्थित सहारा बालगृहसँग जोडिए । द्वन्द्वपीडित बालबालिकाको संरक्षण र शिक्षामा काम गर्न थाले ।

नेपालगन्ज आएर आईएस्सी पढ्दै गर्दा भोग्नु परेको आर्थिक अभाव अहिले पनि सम्झिन्छन् । ‘तीन सय पर्ने क्याल्कुलेटर ८० रुपैयाँमा बेचेर किनेको पाँच किलो चनाले एक महिना बिताएँ,’ उनले भने ।Philanthropic runner says, 'Live your life for others'

सन् २००५ मा पत्रकारिता र द्वन्द्व प्रभावित बालबालिकाका लागि काम गर्ने क्रममा उनले अमेरिका जाने अवसर पाए । त्यसपछि उतै बसाइँ सरेका जोशीले तीन वर्ष मेरिल्यान्डलाई मुकाम बनाए । केही दिन सव–वेमा काम गरे । त्यसपछि ज्वैलरी सपमा कामसँगै पढाइ जारी राखे । सन् २००८ मा स्नातक तह पूरा गरे । पत्नी सुनैना र छोरी नेपालबाट अमेरिका पुगेपछि त्यही वर्ष उनी टेक्सासमा बसाइँ सरे । केही समयपछि ह्यांकक ह्वीट्नीमा जागिर सुरु गरे । पर्सनल बैंकर्सबाट क्यारियर सुरु गरेका उनी केही वर्षमै सिनियर भाइस प्रेसिडेन्ट भएर काम गरेको बताउँछन् । 

पाँच वर्षदेखि बैंकको उत्कृष्ट कर्मचारीको अवार्ड थापिरहेको उनले सुनाए । नाम र सम्मान भने परोपकारी धावकका रूपमा आर्जन गरेका छन् । परोपकारी कामका लागि दौडिन थालेको पाँच वर्षमा विश्वका दुई दर्जनभन्दा बढी म्याराथनमा सहभागी भइसकेका छन् । दौडेर न कीर्तिमान कायम गर्नुछ । न कसैको कीर्तिमान भंग गर्नु नै ।

‘मेरो सहकर्मी जोन फेरिसको प्रेरणाले दौडिन थालेको हुँ,’ उनले भने, ‘स्वस्थ रहन सुरु गरेको दौडलाई पछि गएर परोपकारसँग जोडियो ।’ दुई वर्षअघि स्थापना गरेको वान स्टेप फाउन्डेसनमार्फत विभिन्न मुलुकका परोपकारी संघसंस्था र बालबालिकालाई दुई लाख डलरभन्दा बढी सहयोग गरिसकेका छन् । यो रकम दौडेर संकलन गरेका हुन् ।Philanthropic runner says, 'Live your life for others'

नयाँ वर्ष, क्रिसमस, थ्यांक्स गिभिङ, दसैं, दीपावलीजस्ता पर्वहरू भ्याकेसनको समय दौडेर सदुपयोग गर्छन् । दौडमा परिवारसँगै अरूलाई पनि सहभागी गर्छन् । यसपटक थ्यांक्स गिभिङमा टेक्सासमा आयोजना गरेको टर्की ट्रटमा एक हजार जना दौडिएको उनले बताए । त्यसबाट संकलित पाँच हजार डलर मिराकल लिग अफ आर्लिङ्टनलाई सहयोग गरे ।

अटिस्टिक बालबालिकाको सहयोग तथा प्रोत्साहनका लागि उनको अगुवाइमा वान स्टेप फाउन्डेसनबाट ३ जनवरीमा आयोजना गरिएको ‘वार फर अटिजम’ झण्डै ३ सय जना सहभागी भए । जसमा अटिजम भएका बालबालिका र तिनका अभिभावक सहभागी भए । त्यस दौडबाट संकलित रकम नेपालमा अटिजम भएका बालबालिकाका लागि काम गर्ने संस्थालाई सहयोग गरेको उनले बताए । तिहारका चार दिन नेभादाको रेड क्याननमा दौडमा बिताए । त्यहाँ २ सय २० किलोमिटर दौडिएर २५ हजार डलर संकलन गरे । उक्त रकम नेपालमा पाँच सय जनाको आँखाको शल्यक्रियाका लागि सन्दुक रुइत फाउन्डेसनलाई सहयोग गरेका थिए ।

सन् २०२४ मा संसारकै सबैभन्दा उचाइमा आयोजना हुने एभरेस्ट म्याराथन दौडिए । दौडेर स्पोन्सरबाट ४२ हजार डलर पाए । त्यसमध्ये २९ हजार डलर निःशुल्क स्वास्थ्य शिविर सञ्चालनका लागि टेक्सस नेप्लिज मेडिकल एसोसिएसनलाई दिए । बाँकी रकम नेपालका स्वास्थ्य, बालकल्याण र सांस्कृतिक संरक्षणका लागि सहयोग गरे । जुन २०२५ मा ताञ्जिनियाको किलिमञ्जारो पर्वत आरोहण गरे । त्यसक्रममा संकलन भएको १९ हजार डलर तान्जानियाका ८० एचआईभी प्रभावित अनाथ बालबालिकालाई प्रदान गरेको उनले बताए । अप्रिल २०२५ माबोस्टन म्याराथनबाट प्राप्त १० हजार डलर अमेरिकन लिभर फाउन्डेसनलाई प्रदान गरे ।

सेप्टेम्बर २०२५ माबर्लिन म्याराथनमा दौडिएर संकलन भएको ४ हजार २ सय डलर मिल्स अन द विल्सस्थित ज्येष्ठ नागरिकलाई, नोभेम्बर २०२४ मा न्युयोर्क म्याराथनमा दौडेर संकलन भएको ४ हजार डलर क्यान्सरका बिरामीलाई र नोभेम्बर २०२३ मा सय किमि दौडेर पाएको १० हजार डलर चितवनस्थित अपांग मैत्री पुस्तकालयलाई प्रदान गरेका थिए ।

उनका हरेक दौडका स्पोन्सर विदेशी नागरिक छन् । बाल्यकालमा उनले जुत्ता लगाउन पाएनन् । त्यही कारण अहिले हरेक साता खाली खुट्टा भएकाहरूलाई जुत्ता वितरण गर्छन् । बाल्यकाल भोक र अभावमा बिताएका उनी हरेक महिना खाली पेट भएकाका लागि खाद्यान्न सहयोग गर्छन् । सबैभन्दा धेरै परोपकारी संघसंस्थालाई सहयोग गर्छन् । ‘माई रेस, माई पेस’ उनको दौड मन्त्र हो । ‘मलाई दौडमा कसैलाई उछिन्नु छैन, दौडिनुको उद्देश्य सेवा हो,’ उनले भने, ‘मेरो निजी केही पनि छैन । घाम, पानी, हावा र माटो सेयर गरिरहेका छौं । त्यसैले अरूका लागि बाँचे पो जिन्दगी ।’

रञ्जना

Link copied successfully