अन्तर कलेज तथा विद्यालयस्तरीय फुटसल प्रतियोगिता हुँदै

प्रतियोगिता यही २०८२ साल माघ १६ र १७ गते बिहान ८ बजेदेखि कलंकीस्थित हाम्रो फुटसल ग्राउन्डमा सञ्चालन हुनेछ।

माघ १४, २०८२

कान्तिपुर संवाददाता

Inter-college and school level futsal competition underway

काठमाडौँ — प्रगतिशील खेलकुद महासंघको आयोजनामा प्रथम उपत्यका स्तरीय अन्तर कलेज तथा विद्यालय स्तरीय शहीद स्मृति फुटसल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ। प्रतियोगिता यही २०८२ साल माघ १६ र १७ गते बिहान ८ बजेदेखि कलंकीस्थित हाम्रो फुटसल ग्राउन्डमा सञ्चालन हुनेछ।

'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत युवा पुस्तालाई शारीरिक तथा मानसिक रूपमा सशक्त बनाउनुका साथै  सहिदहरूको योगदानलाई स्मरण गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रम संयोजक उकेन्द्र श्रेष्ठका अनुसार प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्रका विभिन्न कलेज तथा विद्यालयस्तरीय टिमहरूको सहभागिता रहनेछ। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। साथै प्रतियोगितालाई विभिन्न शैक्षिक संस्था, अस्पताल तथा सञ्चार माध्यमहरूको सहकार्य र सहयोग प्राप्त हुने जनाइएको छ।

आयोजक संस्थाले सम्पूर्ण खेलप्रेमी दर्शक, विद्यार्थी तथा खेलकुदमा रुचि राख्ने सबैलाई प्रतियोगिता स्थलमा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन अनुरोध गरेको छ।

कान्तिपुर

Link copied successfully