रोकियो नेपालको यात्रा

स्कटल्यान्डसँग पराजित भएपछि नेपाल आईसीसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्स पुग्न असफल

माघ १३, २०८२

विनोद पाण्डे

Nepal trip halted

What you should know

काठमाडौँ — नेपाललाई सोमबार स्कटल्यान्डविरुद्धको खेल जित्नैपर्ने दबाब थियो, जसले आईसीसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो चरणमा पुग्ने सम्भावनाबाट दिशा बदल्न सक्थ्यो ।

पहिलोपल्ट स्कटल्यान्डको सामना गरिरहेको नेपाली टोली उल्टै फराकिलो अन्तरले पराजित भएपछि समूह चरणबाटै बाहिरिन पुगेको छ । 

नेपाललाई सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा स्कटल्यान्डले ७२ रनले पराजित गरेको हो । १ सय ४१ रनको लक्ष्य पाएको नेपालले १३.५ ओभरमा ९ विकेट गुमाई ६८ रनमात्र बनाउन सक्यो । ब्याटिङका क्रममा ५ रन बनाउँदा घाइते भएर क्रिज छाडेकी कप्तान इन्दु बर्मा पुनः मैदान फर्किन सकिनन् ।

नेपालले ४ खेलमा एकमात्र विजय हात पार्न सक्यो । नेदरल्यान्ड्स सबै ४ खेल जितेर दोस्रो चरणमा पुग्यो भने स्कटल्यान्ड ६ र थाइल्यान्ड ४ अंकसहित शीर्ष तीन टोलीको रूपमा समूह ‘बी’ बाट सुपर सिक्समा प्रवेश गरेका छन् । जिम्बावे भने सबै ४ खेलमा पराजित भयो ।

पहिलो पटक ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा खेलिरहेको नेपाली महिला टोलीलाई जितको दबाबले थिचेको थियो । छिटो छिटो रन बनाउने प्रयासमा एकपछि अर्का ब्याटर आउट भइरह्यो, जसका कारण नेपाल आफ्नो आठौं न्युन स्कोरमा खुम्चिन पुग्यो ।

‘स्कटल्यान्डले राम्रो खेलेको पनि हो, तर हामी ब्याटिङमा धेरै नै चुक्यौं । १ सय २० रनसम्म रोक्न सकियो भने सजिलो हुन्छ भनेर खेलिरहेका थियौं, तर हामीले बलिङमा डट बलहरू फाल्न सकेनौं,’ नेपालकी भेट्रान खेलाडी सीता रानामगरले भनिन्, ‘फिल्डिङमा पनि हामी कमजोर नै देखियौं । स्कटल्यान्डले स्कोर ठूलो बनाएपछि त्यसलाई कसरी छिट्टै पूरा गर्ने दाउमा हामी चाँडै आउट हुन पुग्यौं । भविष्यलाई भने यो अनुभव हाम्रा लागि राम्रो हुनसक्छ ।’

पहिलो दुई खेलमा थाइल्यान्डसँग ८ विकेट र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएपछि नेपालले तेस्रो खेलमा टेस्ट राष्ट्र जिम्बावेलाई ६ विकेटले पराजित गरेर सुपर सिक्समा पुग्ने आशा ब्युँत्याएको थियो । अघिल्ला खेलमा बलिङमा धार देखाउन नसकेको नेपाल सोमबार टस जितेपछि बलिङबाटै विपक्षीमाथि हाबी भए पनि अन्त्यमा ब्याटिङमा अनुभवहीन जस्तै देखिन पुग्यो । 

नेपालबाट सम्झना खड्का ७, विन्दु रावल १४, पूजा महतो २, कविता जोशी ६, सीता रानामगर २, रुबिना क्षेत्री १०, कविता कुँवर शून्य, रिया शर्मा १ र मनीषा उपाध्याय २ रनमा आउट भएका थिए । रोमा थापा ११ बल खेलेर समान १ चौका र छक्कासहित १४ रनमा अविजित रहिन् । स्कटल्यान्डबाट अब्ताहा मक्सुदले ३ विकेट लिइन् । उनले ४ ओभरमा १४ रन खर्चेकी थिइन् । क्याथरिन ब्रिसले २.५ ओभरमा १४ रन खर्चेर २ तथा रचेल स्लेटर र ओलिभिया बेलले १–१ विकेट लिए ।

यसअघि देव्रेहाते स्पिनर मनीषाले सनसनी बलिङ गरेपछि टस हारेर ब्याटिङमा आएको स्कटल्यान्ड निर्धारित २० ओभरमा १ सय ४० रन बनाएर अलआउट भएको हो । प्रतियोगितामा पहिलो खेल खेलिरहेकी मनीषाले निकै उत्कृष्ट सुरुआत गरेकी थिइन् । खेलको दोस्रो बलमै उनले क्याथरिन फ्रेजरलाई बोल्ड गरी नेपाललाई स्वर्णिम सुरुआत दिलाइन् ।

दुई बलपछि मनीषाले अर्की ओपनर डार्सी कार्टरलाई १ रनमै आउट गरिन् । आफ्नो दोस्रो तथा खेलको तेस्रो ओभरमा उनले क्याथरिन ब्रिसलाई ८ रनमा आउट गरिन् । खेलको दसौं तथा आफ्नो अन्तिम ओभरमा मनीषाले एलिसा लिस्टरलाई २२ रनमा पेभेलियन पठाइन् ।

मनीषाले ४ ओभरमा १७ रनमात्र खर्चेर ४ विकेट लिइन् । रुबिनाले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिइन् । उनले अन्तिम २ बलमा लगातार विकेट लिएकी हुन् । सीता रानामगरले ४ ओभरमा १८, कविता जोशीले २ ओभरमा १७ र रिया शर्माले ४ ओभरमा ४१ रन खर्चेर १–१ विकेट लिएका थिए । लिस्टरले २२ रन बनाइन् ।

उनले २४ बल खेल्दा ४ चौका प्रहार गरिन् । प्रियान्ज चटर्जीले स्कटल्यान्डबाट सर्वाधिक ४५ रन जोडेर अविजित रहिन् । उनले २८ बल खेल्दा ७ चौका प्रहार गरिन् । मेगान म्याकोलले १४ बलमा २ चौकासहित १७ रन बनाइन् । 

अमेरिका सुपर सिक्समा

अमेरिका समूह ‘ए’ बाट सुपर सिक्समा पुग्ने अन्तिम टोली भएको छ । अमेरिकाले मूलपानी मैदानमा भएको निर्णायक खेलमा पपुवा न्युगिनीलाई ५ विकेटले पराजित गरेको थियो । पहिला ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाई १ सय १० रनमात्र बनायो । प्रतियोगितामा अन्तिम वरीयताको टोली अमेरिकाले १८ ओभरमै लक्ष्य पूरा गरेको थियो ।

समूह ‘ए’ मा बंगलादेशले सबै ४ खेल जित्यो भने आयरल्यान्डले ४ मध्ये ३ खेल जितेर शीर्ष दुई टोलीमा रह्यो । अमेरिकाको ४, पपुवा न्युगिनीको २ अंक थियो । नामिबिया ४ खेलमै पराजित भयो ।

समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्ने प्रावधान थियो । सुपर सिक्सका खेल बुधबार सुरु हुनेछ । शीर्ष चार टोली जुन–जुलाईमा इंग्ल्यान्ड र वेल्समा हुने महिला ट्वान्टी–२० विश्वकपमा पुग्ने छन् ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully