एसपीए कलेज र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघबीच सोमबार तीन वर्षे मुख्य प्रायोजनसम्बन्धी सम्झौता भएको हो ।
What you should know
धनगढी — कैलालीको धनगढीमा रहेको सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेज सुदूरपश्चिम प्रादेशिक क्रिकेट टोलीको मुख्य प्रायोजक बनेको छ ।
कलेज र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघबीच सोमबार तीन वर्षे मुख्य प्रायोजनसम्बन्धी सम्झौता भएको हो ।
एसपीए कलेजका प्रबन्ध निर्देशक सुवास शाही र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्रमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला तथा पुरुष क्रिकेट खेलाडीहरूले एसपिए कलेजमा शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गर्न पाउने उल्लेख गरिएको छ । त्यसैगरी, प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै क्षेत्रीय प्रतियोगितामा सहभागी खेलाडीहरूले ५० प्रतिशत छात्रवृत्तिको सुविधा प्राप्त गर्ने जनाइएको छ ।
आर्थिक अभावका कारण प्रतिभाशाली खेलाडीहरूले शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले यो सम्झौता गरिएको एसपीए कलेजका निर्देशक शाहीले बताए । उनले भने, ‘यो सहकार्यमार्फत सुदूरपश्चिम प्रदेशमा क्रिकेट खेलको विकास, प्रवर्द्धन, व्यवस्थापन तथा खेलाडी उत्पादनलाई थप सुदृढ बनाउने लक्ष्य राखेका छौं ।’
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँगको यो सहकार्यले नेपाली क्रिकेटको भविष्यलाई अझ सशक्त बनाउने उनले बताए । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष जोशीले यस साझेदारीले प्रदेशका प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने बताए ।
‘प्रदेश स्तरीय क्रिकेटका विभिन्न गतिविधि सञ्चालनका लागि एसपिए कलेजले आगामी तीन वर्षसम्म आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने भएकाले सुदूरपश्चिमलाई क्रिकेटमय बनाउन ठूलो टेवा पुग्ने छ,’ उनले भने,‘आगामी दिनमा ग्रासरुट तहका गतिविधिसँगै नयाँ खेलाडी उत्पादनमा पनि हामी केन्द्रित हुनेछौं ।’ हाल एसपीए कलेजसँग १७ भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका क्रिकेट खेलाडी आबद्ध रहेको निर्देशक शाहीले जानकारी दिए ।
