न्युटन र हिमशिला स्कुल दोस्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गर्ल्समा विजयी छन् ।
काठमाडौँ — न्युटन र हिमशिलाले दोस्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गर्ल्समा विजयी भएका छन् ।
आयोजक फेरिल्यान्ड स्कुलको कोर्टमा न्युटनले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १६–१० स्कोरले पराजित गर्यो । न्युटनकी जेनिशा तामाङले ६ स्कोर गरिन् । जेविना श्रेष्ठको ६ स्कोरमा हिमशिलाले एनसीसीएसलाई १८–१७ ले हरायो ।
जुनियर गर्ल्समै साबिक विजेता आयोजक फेरिल्यान्ड ‘ए’ ले भ्याली पब्लिकलाई २०–१६ र जेबी स्कुलले भक्तिलाई १८–१४ ले हराए । फेरिल्यान्ड ‘ए’ की सन्दीपा राईले १० र जेबीकी संगिता राईले ६ स्कोर गरे ।
जुनियर ब्वाइजमा फेरिल्यान्डले हिमशिलालाई २६–१८, एन्जल्स हार्टले बीएनएलाई २७–१८, गोल्डेनपिकले न्युटनलाई १९–१५ र जेबीले भक्तिलाई २५–२० ले पन्छाए । फेरिल्यान्डका राहुल मग्राती, एन्जल्स हार्टका अश्विन जुग्जाली, गोल्डेनपिकका आदित कुलुङ र जेबीका आरोन राणाले ६–६ स्कोर जोडे ।
