विश्वकपकै अनुभव बोकिसकेको स्कटल्यान्डलाई पराजित गर्न नेपाललाई त्यत्ति सजिलो हुने छैन ।
What you should know
काठमाडौँ — महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा सोमबार आमनेसामने हुँदा नेपाल र स्कटल्यान्डबीचमा एउटा समानता हुनेछ ।
दुबै टोली एक अर्काका बारेमा अपरिचित जस्तै छन् । नेपाल र स्कटल्यान्ड एकआपसमा पहिलो पटक भिड्न लागेका हुन् । प्रतियोगिता सुरु हुनुअघिको अभ्यास खेलमा यी दुई टोली नखेलेका भने होइनन् ।
तर दुवै टोलीलाई थाहा छ, यस खेलले अघिल्लो चरणको दिशा कोर्नेछ । सुपर सिक्समा पुग्न नेपाललाई स्कटल्यान्डमाथि विजय हात पारेर नपुग पनि हुन सक्छ । त्यसैले नेपाल स्कटल्यान्डलाई ठूलो अन्तरले पराजित गर्ने दाउमा रहेको छ । विश्वकपकै अनुभव बोकिसकेको स्कटल्यान्डलाई पराजित गर्न नेपाललाई त्यत्ति सजिलो हुने छैन ।
पूर्ण राष्ट्र जिम्बावेमाथि शनिबार ६ विकेटको विजय हात पारेपछि नेपालको सुपर सिक्समा पुग्ने समीकरण ब्युँतिएको हो । पूजा महतोले अविजित ५२ रन बनाएपछि नेपालले जिम्बावेसँगको खेलमा १ सय ३० रनको विजय लक्ष्य पछ्याएको थियो । आत्मविश्वासी पूजाले खेलपछि भनेकी थिइन्, ‘अघिल्ला खेलहरूमा नेपाल १ सय ४० रनको लक्ष्यनजिक पुगेको थियो, १ सय ३० त केही होइन ।’
नेपाल पहिलो दुई खेलमा थाइल्यान्डसँग ८ विकेटले र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । नेदरल्यान्ड्ससँग १ सय ४१ रनको लक्ष्य पछ्याउँदा अन्तिम समयमा चुकेको थियो । सम्झना खड्का र विन्दु रावलले उत्कृष्ट सुरुआत दिलाए पनि मध्यक्रमका ब्याटरहरू एकपछि अर्को आउट हुँदा नेपालले मौका चुकाउनुपरेको थियो । तर जिम्बावेसँगको खेलमा पूजा र कप्तान इन्दु बर्माले त्यही मध्यक्रमलाई नियन्त्रणमा लिँदै नेपाललाई एतिहासिक विजय दिलाएको थियो ।
नेपाललाई पराजित गरेमा स्कटल्यान्डको सुपर सिक्स यात्रा सुनिश्चित हुनेछ । समूह ‘बी’ आयरल्यान्डले सबै ३ खेल जितेर सुपर सिक्समा पुगिसकेको छ । स्कटल्यान्ड र थाइल्यान्ड ३ खेलमा समान २ जित हात पारी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपालको ३ खेलमा २ अंक छ । जिम्बावे सबै खेल हारेर घर फर्किसकेको छ ।
सोमबार नै यस समूहको अर्को खेलमा नेदरल्यान्ड्स र थाइल्यान्डका बीच प्रतिस्पर्धा हुनेछ । नेपालले स्कटल्यान्डलाई पराजित गर्न सकेमा यस खेलको नतिजाले पनि नेपालको अर्को चरणमा जाने सम्भावनालाई प्रभाव पार्नेछ । पहिलो ३ खेल जितेर यसअघि नै नेदरल्यान्ड्स सुपर सिक्समा पुगिसकेको छ । नेपालले स्कटल्यान्डलाई र नेदरल्यान्ड्सले थाइल्यान्डलाई पराजित गरेको खण्डमा नेपालसहित स्कटल्यान्ड र थाइल्यान्डको समान ४ अंक हुनेछ र यस्तोमा राम्रो रन रेट भएको दुई टोली सुपर सिक्समा पुग्नेछ ।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग ७ रनले पराजित स्कटल्यान्डले त्यसपछि जिम्बावे र थाइल्यान्डलाई समान ५ विकेटले पराजित गरेको थियो । पहिलो पटक महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा खेल्दै नेपालले जिम्बावेमाथि विजय हात पार्न सकेको थियो । स्कटल्यान्डले भने २०२४ को ट्वान्टी–२० विश्वकप नै खलिसकेको छ ।
जिम्बावेमाथिको विजय हात पारेपछि नेपालका प्रशिक्षक हर्सल पाठकले दोस्रो चरणमा पुग्ने सम्भावनाका बारेमा भनेका थिए, ‘मैले केही गुणा भाग गरेको छैन, तर हाम्रो दोस्रो चरणमा पुग्ने राम्रो सम्भावना रहेको छ, यसै समूहको अर्को खेलका पनि हाम्रा लागि अर्थ हुनेछ । तर यो सबै हाम्रो हातमा छैन । हामीले गर्ने भनेको आफ्नो शक्तिअनुसार खेल्ने हो ।’
