मनीषाको उत्कृष्ट बलिङ, नेपाललाई स्कटल्यान्डको चुनौतीपूर्ण लक्ष्य

स्कटल्यान्ड सोमबार निर्धारित २० ओभर खेली १ सय ४० रनमा अलआउट भएको हो ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Manisha's excellent bowling sets Scotland a challenging target for Nepal

What you should know

काठमाडौँ — देब्रे हाते स्पिनर मनीषा उपाध्यायले सनसनी बलिङ गरेपछि नेपालले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा स्कटल्यान्डविरुद्धको खेल जित्न १ सय ४१ रनको लक्ष्य पाएको छ ।

नेपालले टस जितेपछि ब्याटिङमा आएको स्कटल्यान्ड सोमबार निर्धारित २० ओभर खेली १ सय ४० रनमा अलआउट भएको हो ।

प्रतियोगितामा पहिलो खेल खेलिरहेकी मनीषाले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा निकै उत्कृष्ट सुरुआत गरेकी थिइन् । खेलको दोस्रो बलमै उनले क्याथरिन फ्रेजरलाई बोल्ड गरि नेपाललाई स्वर्णीम सुरुआत दिलाइन् ।

दुई बलपछि मनीषाले अर्की ओपनर डार्सी कार्टरलाई १ रनमा आउट गरिन् । आफ्नो दोस्रो तथा खेलको तेस्रो ओभरमा उनले क्याथरिन ब्रिसलाई ८ रनमा आउट गरिन् । खेलको दशौं तथा आफ्नो अन्तिम ओभरमा मनीषाले एलिसा लिस्टरलाई २२ रनमा आउट गरिन् ।

मनीषाले ४ ओभरमा १७ रनमात्र खर्चेर ४ विकेट लिइन् । रुविना क्षेत्रीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिइन् । उनले अन्तिम २ बलमा लगातार विकेट लिएकी थिइन् । सीता रानामगरले ४ ओभरमा १८, कविता जोशीले २ ओभरमा १७ र रिया शर्माले ४ ओभरमा ४१ रन खर्चेर १–१ विकेट लिइन् ।

लिस्टरले २२ रन बनाइन् । उनले २४ बल खेलि ४ चौका प्रहार गरिन् । प्रियान्ज चटर्जीले स्कटल्यान्डबाट सर्वाधिक ४५ रन बनाइ अविजित रहिन् । उनले २८ बल खेलि ७ चौका प्रहार गरिन् । मेगान म्याकोलले १४ बल खेलि २ चौका प्रहार गरी १७ रन बनाइन् ।

सुपर सिक्समा पुग्न नेपाललाई यस खेल जित्नै पर्नेछ । स्कटल्यान्डको ३ खेलमा ४ र नेपालको २ अंक । नेदरल्यान्ड्स पहिलो ३ खेल नै जितेर सुपर सिक्समा पुगिसकेको छ । समूह ‘बी’ मा थाइल्यान्डको ३ खेलमा २ जित छ । दिउँसोको खेलमा नेदरल्यान्ड्सले थाइल्यान्डको सामना गर्नेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully