हिमालयन चेसको पजल सल्भिङ

उत्कृष्ट नतिजा ल्याउने खेलाडीले जर्मनीको मगडेबर्गमा हुने ४९ औं वर्ल्ड चेस सोल्भिङ च्याम्पियनसिपमा सहभागी हुन पाउने छन् ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Himalayan Chess Puzzle Solving

What you should know

काठमाडौँ — पहिलोपल्ट आयोजित चेस पजल सल्भिङ कन्टेस्ट आइतबार सम्पन्न भएको छ । हिमालयन चेस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दुई क्याटगोरीमा ६ महिला र १५ पुरुष गरी कुल २१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

एकेडेमीले वर्ल्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लूएफसीसी) सँगको सहकार्यमा आयोजित रेटेड प्रतियोगितामा निकै अनुभवी खेलाडीले मात्रै अवसर पाउने क्याटगोरी १ मा कसैले नाम दर्ता गरेनन् । कम अनुभवीको क्याटगोरी २ तथा १३ वर्षमुनिका खेलाडीको क्याटगोरी ३ मा चार घण्टा बसेर डब्लूएफसीसीले पठाएका पजल सल्भ गरेका थिए । क्याटगोरी २ मा १२ र क्याटगोरी ३ मा ६ वटा पजल सल्भ गर्न दिइएको थियो ।

क्याटगोरी २ मा ११ र क्याटगोरी ३ मा १० खेलाडीले पजल सोल्भ गरे । ६ देखि २४ वर्ष उमेरका उनीहरू ११ वटा स्कुल र कलेजबाट सहभागी भएका हुन् । क्याटगोरी २ का पजल सल्भरले डब्लूएफसीसीको रेटिङ पाउनेछन् । एकेडेमीका निर्देशक याइसास यासिर खम्बुका अनुसार सल्भ गरेको पेपर पठाएपछि डब्लूएफसीसीले जाँच गरेपछि यही साता नतिजा सार्वजनिक गरिनेछ । चेस पजल सल्भिङले खेलाडीको विश्लेषणलाई सहज बनाउँदै क्षमता अभिवृद्धि हुने गर्छ ।

डब्लूएफसीसीसँग सहकार्य गर्दै इन्टरनेसनल सोल्भिङ कन्टेस्ट (आईएससी) २०२६ को एउटा प्रतियोगिताका रूपमा हिमालयन चेस एकेडेमीले देशमै पहिलोपल्ट काठमाडौंमा पजल सल्भिङ कन्टेस्ट आयोजना गरेको हो । आईएससीको २२ औं संस्करणमा २७ देशका काठमाडौंसहित ६५ सहरमा एकसाथ आइतबार (२५ जनवरी) नौ सय बढीले प्रतिस्पर्धा गर्दै छन् । हरेक सहरमा उत्कृष्ट नतिजा ल्याउने खेलाडीले जर्मनीको मगडेबर्गमा अगस्ट ८ देखि १५ सम्म हुने ४९ औं वर्ल्ड चेस सोल्भिङ च्याम्पियनसिपमा सहभागी हुन पाउने छन् ।

कान्तिपुर

Link copied successfully