शतप्रतिशत प्रदर्शनमा पनि एपीएफ प्रशिक्षकको गुनासो

प्रशिक्षक तामाङ खुसी छैनन् । एक त उनी आफ्नो टिम लिग उपाधिमै रहेको मान्दैनन्, बरु उनलाई आफ्ना खेलाडीकै प्रदर्शनमा गुनासो छ ।

माघ १२, २०८२

हिमेश

APF coach complains despite 100 percent performance

What you should know

काठमाडौँ — राष्ट्रिय लिग फुटबलको उपाधिको होड के त्रिकोणात्मक हुनेछ ? सायद । प्रतियोगिताले चौथो चरण छुँदा लगभग यस्तै देखिएको छ ।

अहिलेसम्म तीन टिमले आफ्ना तीनै खेल जितेका छन् । यसमध्ये पछिल्लो टिम रहेको छ, एपीएफ । उसले दशरथ रंगशालामा संकटाले हराएरआफ्नो शतप्रतिशत यात्रा कायम राखेको हो, नौ अंकसहित । 

अधिकतम नौ अंकमा रहने टिममा पोखराको लालीगुराँस एसोसिएसन र मछिन्द्र फुटबल क्लब रहेका छन् । कम्तीमा तिनीहरूले यस्तै छाँट देखाएका छन् । यति हुँदाहुँदै पनि एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ खुसी छैनन् । एक त उनी आफ्नो टिम लिग उपाधिमै रहेको मान्दैनन्, बरु उनलाई आफ्ना खेलाडीकै प्रदर्शनमा गुनासो छ । 

संकटालाई हराएर मिडियासामु प्रस्तुत हुने क्रममा उनले भने, ‘हाम्रा खेलाडीको प्रदर्शन ग्रास रुटका खेलाडीको जस्तो छ । प्रत्येकपल्ट टच लाइनमा निर्देशन दिइरहनुपर्छ । उनीहरूमा खेल अनुशासनकै कमी छ, चाहे त्यो रेफ्रीका लागि होस् अथवा प्रतिद्वन्द्वी नै किन नहोस् ।’

सायद प्रशिक्षक तामाङले त्यो कटु सत्य बोलेका छन्, जुन प्रकारको समस्या उनको टिममा मात्र होइन, सबैमा छ । संकटाविरुद्ध एपीएफका लागि गोल खेलाडीमा रहे, प्रदीप लामा र युवराज खड्का । प्रदीपले २९ औं मिनेटमा गोलको खाता खोलेपछि युवराजले ५१ औं मिनेटमा दोस्रो थपे । संकटाका तर्फबाट गणेश हमालले ८१ औं मिनेटमा एक गोल फर्काए तर त्यसले खेलमा खासै प्रभाव पारेन । संकटाको यो चौथो खेल हो र उसको खातामा पाँच अंक मात्र छ । यो उसको पहिलो हार पनि हो । संकटाले दुई बराबरी पनि खेलेको छ । अब उसको अगाडि योजना के छ त ? संकटाका प्रशिक्षक रवीन्द्र शिलाकारले भने, ‘अहिले हामी उमेर समूहका खेलाडीमा बढी निर्भर छौं । जति बेला थप खेलाडी भित्र्याउने समय आउनेछ, त्यति बेला हाम्रो वास्तविक टिम बन्नेछ । त्यो साँच्चैको संकटा टिम हुनेछ ।’

चर्च ब्वाइजको पहिलो जित

सहिद स्मारक लिग ‘ए’ डिभिजन विजेता चर्च ब्वाइजले आफ्नो तेस्रो खेलमा आएर पहिलो जित निकाल्यो । संकटाविरुद्ध सम्भव दुवै गोल दोस्रो हाफमा भएको थियो । त्यो जितमा नाइजेरियाली खेलाडी अबुयोमी फकुन्ले नायक रहे । उनले दुई गोल गरे र अर्को गोलमा सहयोगी भूमिका निभाए । फकुन्ले ५३ औं मिनेटमा पहिलो गोल गरेपछि मिलन राईले उनकै पासमा ६१ औं मिनेटमा अर्को गोल थपे । फुकन्लेले ६८ औं मिनेटमा तेस्रो गोल गरे । यो नतिजापछि चर्च ब्वाइजको तीन खेलबाट चार अंक भएको छ । जावलाखेल भने तीन खेलमा तीनै अंकमा सीमित रह्यो ।

खेलपछि चर्च ब्वाइजका सहायक प्रशिक्षक रमेश दंगालले भने, ‘मलाई लाग्छ, अब हाम्रो टिमले लय समात्नेछ । टिममा समन्वय मिल्न थालेको जस्तो छ । त्यसैले आज हामीले कम्तीमा नौ–दस राम्रा आक्रमण बुन्न सफल रह्यौं ।’ यस्तै जावलाखेलका प्रशिक्षक सुनील श्रेष्ठले प्रतिक्रिया दिए, ‘आजको नतिजा अपेक्षित थिएन । हाम्रा अधिकांश खेलाडी युवा छन् र तिनमा

अनुभवको कमी छ । त्यसैले यो नै समस्याका रूपमा रहेको छ । अबका खेलमा राम्रो प्रदर्शनको प्रयास गर्नेछौं ।’

एनआरटी अगाडि बढ्दै

उपाधि होडमा सामेल एउटा अर्को टिम पनि छ र त्यो हो, एनआरटी । आफ्नो पहिलो खेल गुमाएयता एनआरटीले लगातार तेस्रो जित निकालेको छ र अब उसको पनि नौ अंक भएको छ । एनआरटीका लागि खुसीको कुरा के पनि हुनेछ भने उसले लगातार दोस्रो खेलमा क्लिन सिट राखेको छ । फ्रेन्ड्सविरुद्ध एक मात्र गोल गर्ने खेलाडी रहे, आशिष गुरुङ । उनले ६७ औं मिनेटमा गोल गरेका हुन् ।

फ्रेन्ड्स भने चार अंकमै सीमित रह्यो, चार खेलबाट । उसको यो दोस्रो हार हो । आफ्नो पहिलो खेल जितेको फ्रेन्ड्सले त्यसपछिका तीन खेलमा एकै अंक मात्र बटुलेको छ र यो क्लबका लागि चिन्ताको विषय हुनेछ । त्यति मात्र होइन्, फ्रेन्ड्सले आफ्ना पछिल्ला तीन खेलमा कुनै गोल गर्न सकेको छैन र यो क्षेत्रमा फ्रेन्ड्सले तुरुन्तै स्थिति सुधार्नुपर्नेछ, अन्यथा उसका लागि भने लिग लामो र कठिन प्रतियोगिता सावित हुन सक्नेछ ।

हिमेश

Link copied successfully