विजेता नेर्पा स्पोर्ट्सले तीन लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता गछियाले एक लाख ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
खोटाङ — प्रभुराम राई पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पा स्पोर्ट्स क्लबले जितेको छ । बुइपास्थित यलम्बर रङ्गशालामा आइतबार सम्पन्न फाइनल खेलमा गछिया युवा समाज मोरङलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेर्पाले उपाधि चुमेको हो ।
विजेता नेर्पा स्पोर्ट्सले तीन लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता गछियाले एक लाख ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
सेमिफाइनलिस्ट बुइपा ११ स्पोर्ट्स क्लब र खाराम्बु स्पोर्ट्स क्लबले ५०–५० हजार नगद पाएको म्याच कमिस्नर तथा जिल्ला फुटबल संघ खोटाङका प्रवक्ता सनम राईले बताए ।
विधागत पुरस्कारअन्तर्गत उत्कृष्ट खेलाडी नेर्पा स्पोर्ट्स क्लबका शलीन ढकाल घोषित भएका छन् । उनले नगद ३० हजारसहित मेडल र प्रमाणपत्र पाएका छन् ।
बेस्ट कोच नेर्पा स्पोर्ट्स क्लबकै डिगेन्द्र गुरुङ, बेस्ट गोल्ड किपर नेर्पा स्पोर्ट्सकै रोहन परियार, बेस्ट मिड फिल्डर गछिया युवा समाजका योहना लिम्बु, बेस्ट डिफेण्डर बुइपा-११ स्पोर्ट्स क्लबका रामेश्वर राई, बेस्ट फर्वार्ड गछियाका रोहन गुरुङ, राइजिङ प्लेयर बुइपा-११ युवा क्लबका एलन राई, हाइस्कोररमा नेर्पा स्पोर्ट्सका बिकी चाम्लिङ र गछियाका मिक्सन दास घोषित भए । उनीहरूले जनही १५ हजार नगदसहित मेडल र प्रमाणपत्र पाएको राईले सुनाएका छन् ।
प्रतियोगिता माघ ७ गते सुरु भएको थियो । खेलको उद्घाटन एन्फा महासचिव किरण राईले गरेका थिए ।
