महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाललाई जिम्बावेले १ सय ३० रनको लक्ष्य दिएको छ ।
What you should know
काठमाडौँ — जिम्बावेले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाललाई १ सय ३० रनको लक्ष्य दिएको छ ।
नेपालकी कप्तान इन्दु बर्माले शनिबार टस जितेर ब्याटिङको निम्तो दिएपछि जिम्बावेले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २९ रन बनाएको हो ।
केलिस ध्लोभुले अविजित ५२ रन बनाउँदै जिम्बावेलाई मध्यम स्कोरमा उभ्याइन् । उनले ३६ बल खेली ८ चौका प्रहार गरिन् । ओपनर विलोभ्ड बिजाले ३४ रन जोडिन् । उनले ३५ बल खेली ४ चौका प्रहार गरिन् ।
उनका ओपनिङ जोडी कप्तान चिपो मुगेरी ट्रिपानोले ८ रन जोडिन् । कविता कुँवरले खेलको पहिलो बल वाइड फालेकी थिइन् । त्यसपछिको दुई बलमा ट्रिपानोले एजमा दुई चौका प्रहार गरिन् । तर तेस्रो बलमा कविताले उनलाई बोल्ड गरेकी थिइन् ।
मोडेस्टर मुपाचिकवाले २६ बल खेली १४ रन बनाइन् । लोरिन सुमाले खाता खोल्न सकिनन् भने जोसेफिन एनकोमो ६ र चिइद्जा धुरुरु ४ रनमा आउट भइन् । नेपालबाट रिया शर्माले २ विकेट लिइन् । उनले ४ ओभरमा २५ रन खर्चेकी थिइन् । कविता कुँवर, सीता रानामगर, रुविना क्षेत्री र पुजा महतोले १–१ विकेट लिइन् ।
नेपाल र जिम्बावे पहिलो पटक आमनेसामने भएका हुन् । सुपर सिक्समा पुग्ने झिनो आशालाई कायम राख्न नेपाललाई यो खेल जित्नैपर्ने अवस्था छ । पहिलो पटक ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा खेलिरहेको नेपाल पहिलो जित हात पार्ने आशामा रहेको छ ।
नेपाल पहिलो दुई खेलमा पराजित भइसकेको छ । नेपाललाई थाइल्यान्डले ८ विकेटले र नेदरल्यान्ड्सले २ रनले पराजित गरेको थियो । जिम्बावे पहिलो ३ खेलमा पराजित भएर सुपर सिक्समा पुग्ने सम्भावनाबाट बाहिरिसकेको छ । जिम्बावे यस प्रतियोगितामा नेदरल्यान्ड्स, थाइल्यान्ड र स्कटल्यान्डसँग पराजित भएको थियो ।
