भारतमा गएर खेल्ने विषयमा विवाद उत्पन्न भएपछि बंगलादेशले विश्वकप नखेल्ने निर्णय गरेको थियो ।
दिल्ली — स्कटल्यान्डले अर्को महिना हुने आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा बंगलादेशको स्थान लिने भएको आईसीसीले शनिबार जनाएको छ ।
भारतमा गएर खेल्ने विषयमा विवाद उत्पन्न भएपछि बंगलादेशले विश्वकप नखेल्ने निर्णय गरेको थियो ।
‘स्कटल्यान्डलाई बंगलादेशको स्थान लिन बोलाइएको छ र टोलीले समूह ‘सी’ मा रहेका इंग्ल्यान्ड, इटाली, नेपाल र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ,’ विश्व क्रिकेटको सर्वोच्च संस्था (आईसीसी) ले विज्ञप्तिमा भनेको छ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा ट्वान्टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदै छ ।
बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को निर्देशनमा इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली कोलकाता नाइट राइडर्सले हटाएपछि यी दुई राष्ट्रबीचको विवाद बढेको थियो । मुस्लिम बाहुल्य रहेको बंगलादेशमा अल्पसंख्यक समुदायमाथि चरम दमन भइरहेको पृष्ठभूमिमा भारतले यो निर्णय लिएको थियो ।
त्यसयता बंगलादेशले सुरक्षाको कारण देखाई भारतमा गएर खेल्न अस्वीकार गर्दै श्रीलंकामा आफ्नो खेल सार्न अनुरोध गरेको थियो । बंगलादेशको सुरक्षा चुनौतीको दावीमा कुनै विश्वसनीयता नभएको भन्दै आईसीसीले त्यसलाई श्रीलंका खेल सार्न अस्वीकार गरेको थियो ।
बंगलादेशले आफ्नो सबै खेल भारतीय सहर कोलकाता र मुम्बईमा खेल्नुपर्ने थियो । पहिलो तीन खेल कोलकातामा खेलेपछि बंगलादेशले फेब्रुअरी १८ मा मुम्बईमा नेपालसँग खेल्ने कार्यक्रम थियो । विश्वकपमा छनोट नभएको स्कटल्यान्ड सबैभन्दा उच्च टी–२० वरीयताको टोली हो ।
