नेपाललाई दुई रनको दुर्भाग्य

महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग नेपाल पराजित

माघ ९, २०८२

कान्तिपुर संवाददाता

Nepal suffers two runs' misfortune

What you should know

काठमाडौँ — नेदरल्यान्ड्स महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा पुगेको छ । रुबिना क्षेत्री र सीता रानामगरको साहसलाई पन्छाउँदै नेदरल्यान्ड्सले बिहीबार नेपाललाई २ रनले पराजित गरी अर्को चरणको यात्रा तय गरेको हो । डच टोलीको प्रतियोगितामा लगातार तेस्रो जित हो ।

टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ४० रन बनाएको थियो । जबाफमा नेपालले ७ विकेट गुमाई १ सय ३८ रनमात्र बनाउन सक्यो । अन्तिम ओभरमा विजयनिम्ति १३ रन चाहिँदा रुबिनाले इनिङ्सको अन्तिम बलमा चौका प्रहार गरे पनि नेपालले ११ रनमात्र बनाउन सक्यो । अन्तिम बलमा छक्का प्रहार गरेको भए स्कोर बराबर हुन्थ्यो ।

रुबिनाले ३२ बलमा अविजित ३७ रन बनाइन् । त्यसक्रममा उनी नेपालबाट महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन बनाउने दोस्रो खेलाडी बनिन् । यसअघि कप्तान इन्दु बर्माले नेपालबाट १ हजार रन पूरा गरिसकिन् । रुबिनाले आफ्नो इनिङ्सका क्रममा ५ चौका प्रहार गरिन् ।

‘खेल जित्न नसक्नु दुर्भाग्य हो, तर त्यो स्थितिबाट खेललाई यहाँसम्म ल्याउनु पनि आगामी खेलका लागि आधार हो,’ रुबिनाले खेलपछि भनिन्, ‘मध्यक्रममा एउटा राम्रो साझेदारी हुनु जरुरी थियो, हतार गर्नुपर्ने केही थिएन । तर त्यहीं हामीले धेरै विकेट गुमाउन पुग्यौं । हाम्रै विकेट हो, फ्ल्याट छ विकेट, ८–१० रन प्रतिओभर त बनिहाल्थ्यो ।’

रुबिना र सीताले अन्तिम २२ बलमा ४५ रनको साझेदारी गरेर नेपाललाई विजय नजिक पुर्‍याएका हुन् । सीता १२ बलमा २७ रनसहित अविजित रहिन् । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । नेपालको यो लगातार दोस्रो हार हो । यसले नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कठिन बनेको छ । 

यसअघि ओपनरद्वय विन्दु रावल र सम्झना खड्काले नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर विन्दु १८ रनमा रनआउट हुनु नेपालको दुर्भाग्य बन्यो । विन्दुले १५ बलमा ४ चौका प्रहार गरिन् । सम्झनाले ८ बलमा ३ चौकासहित १४ रन बनाइन् । पूजा महतो ८, इन्दु बर्मा ६ र काजोल श्रेष्ठ ४ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो । कविता जोशी १३ रनमा आउट भइन् । उनले १८ बल खेल्दै २ चौका प्रहार गरिन् । कविता कुँवर १ रनमै आउट भइन् ।

नेपालले बलिङमा पनि उत्कृष्ट सुरुआत गरेको थियो । सोमु विष्टले ओपनर फेबे मोल्केनबोइरलाई शून्यमै पेभेलियन फर्काइन् । अर्की ओपनर हिथर सिगर्सले ५ बल खेल्दै ३ चौकासहित १३ रन बनाएर पूजाको बलमा आउट भइन् ।

पहिलो दुई ओभरमा दुवै ओपनरलाई गुमाए पनि कप्तान बाबेटे डी लिड र स्टेरे कालिसले तेस्रो विकेटमा ७९ रनको साझेदारी गरे । रिया शर्माले कालिसलाई बोल्ड गरेर साझेदारी तोडिन् । नेपाली भूमिमा निकै उच्च प्रर्दशन गर्दै आएकी कालिसले ३४ बलमा २ चौकासहित ३० रन बनाइन् । डी लिडले ४९ रन जोडिन् ।

रुबिनाबाट कट एन्ड बोल्ड भएकी उनले ४७ बल खेलि ७ चौका प्रहार गरिन् । रुविनाले फ्रेडेरिक ओभरडिकलाई ५ रनमा आउट गरिन् । रुविनाले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिइन् । रोबिन रिज्के १७ बलमा ३ चौकासहित १९ र इरिस ज्वेलिङ ९ बलमा २ चौकासहित १४ रनमा अविजित रहे । 

नेदरल्यान्ड्स ६ अंकसहित समूह ‘बी’ मा शीर्षस्थानमा छ । यसै समूहको अर्को खेलमा स्कटल्यान्डले जिम्बावेलाई ५ विकेटले हरायो । जिम्बावेले बनाएको १ सय १ रनलाई स्कटल्यान्डले १४ ओभरभित्र पूरा गरेको थियो । स्कटल्यान्डको दुई खेलमा यो पहिलो विजय हो । जिम्बावे लगातार तेस्रो खेलमा पराजित भएको हो । 

बंगलादेश सुपर सिक्समा

समूह ‘ए’ बाट बंगलादेश लगातार तेस्रो खेल जित्दै सुपर सिक्समा पुगेको छ । बंगलादेशले बिहीबार कीर्तिपुरमै भएको दिनको खेलमा नामिबियालाई ८० रनले पराजित गर्‍यो ।

दाबेदार बंगलादेशले ७ विकेट गुमाई १ सय ४४ रन बनाएको थियो । जबाफमा नामिबिया १७.५ ओभरमा ६४ रनमै अलआउट भयो । अर्को खेलमा आयरल्यान्डले अमेरिकालाई १६ रनले हरायो । आयरल्यान्डको यो लगातार दोस्रो जित हो ।

कान्तिपुर

Link copied successfully