हाङथुम कप: दार्जिलिङको दुधे स्पोर्टिङ र धनकुटाको डिवाइसी फाइनलमा

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा दुधे स्पोटिङले तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लबलाई टाइब्रेकमा ४–२ गोलले हराउँदै उपाधि यात्रालाई निरन्तरता दिएको हो।

माघ ९, २०८२

दीपेन्द्र शाक्य

Hangthum Cup: Darjeeling's Dudhe Sporting and Dhankuta's Dzhizy advance to final

संखुवासभा — संखुवासभाको मूलखर्कमा जारी ४७औँ हाङथुम कप फुटबल प्रतियोगिताको उपाधिका लागि भारतको दार्जिलिङबाट आएको दुधे स्पोर्टिङ क्लब र धनकुटाको डिवाइसी क्लब भिड्ने भएका छन्।

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा दुधे स्पोर्टिङले तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लबलाई टाइब्रेकमा ४–२ गोलले हराउँदै उपाधि यात्रालाई निरन्तरता दिएको हो।

निर्धारित समय र अतिरिक्त समयमा खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकमार्फत गरिएको थियो।

खेलको ३६औँ मिनेटमा दुधे स्पोटिङका मनु सरैयाले शानदार गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर ६५औँ मिनेटमा म्याङलुङ स्पोर्टिङका रोशन आचार्यले हेडमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए।

त्यसपछि दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल हुन नसकेपछि खेल टाइब्रेकमा पुगेको हो। टाइब्रेकमा दुधे स्पोटिङले उत्कृष्ट संयम र कौशल देखाउँदै ४–२ गोल गर्दै फाइनल टिकट पक्का गर्‍यो। दर्शकले भरिएको मैदानमा दुवै टोलीले प्रस्तुत गरेको प्रतिस्पर्धात्मक खेलले सबैलाई आकर्षित बनाएको थियो।  

शुक्रबार भएको पहिलो सेमिफाइनलको खेलमा डिवाइसी धनकुटाले कोशी प्रदेश प्रहरी टिमलाई २-० गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो। 

शनिबार हुने फाइनल खेलमा दुधे स्पोर्टिङले धनकुटाको बलियो टोली डिवाइसी क्लबसँग उपाधिका लागि भिड्नेछ।

नेपाल र भारतका गरी ८ टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेता टोलीले नगद २ लाख ४२ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख २१ हजार रुपैयाँ पुरस्कार हात पार्नेछ। आयोजक समितिका अध्यक्ष असिम जिमीका अनुसार हाङथुम कपको फाइनल खेल मादी नगरपालिका–३ मूलखर्कमा हुनेछ ।

दीपेन्द्र

Link copied successfully