पहिलो २ ओभरमा दुबै ओपनरलाई गुमाए पनि कप्तान बाबेटे डी लिड र स्टेरे कालिसले तेस्रो विकेटमा ७९ रनको साझेदारी गरे ।
What you should know
काठमाडौँ — नेदरल्यान्ड्सले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा बिहीबार नेपाललाई १ सय ४१ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा निर्धारित २० ओभर खेलि ५ विकेट गुमाई १ सय ४० रन बनाएको हो ।
नेपालले उत्कृष्ट सुरुआत गरेको थियो । सोमु विष्टले ओपनर फेबे मोल्केनबोइरलाई शुन्यमै पेभेलियन फर्काइन् । अर्की ओपनर हिथर सिगर्सले ५ बल खेलि ३ चौका प्रहार गरि १३ रन बनाई पूजा महतोको बलमा आउट भइन् ।
पहिलो २ ओभरमा दुबै ओपनरलाई गुमाए पनि कप्तान बाबेटे डी लिड र स्टेरे कालिसले तेस्रो विकेटमा ७९ रनको साझेदारी गरे । रिया शर्माले कालिसलाई बोल्ड गरि यो साझेदारी तोडिन् । नेपाली भूमीमा निकै उच्च प्रर्दशन गर्दै आएकी कालिसले ३४ बल खेली २ चौका प्रहार गर्दै ३० रन बनाइन् ।
डी लिडले ४९ रन जोडिन् । रुबिना क्षेत्रीबाट कट एन्ड बोल्ड भएकी उनले ४७ बल खेलि ७ चौका प्रहार गरिन् । रुविनाले फ्रेडेरिक ओभरडिकलाई ५ रनमा आउट गरिन् । रुविनाले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिइन् । रोबिन रिज्के १७ बल खेलि ३ चौका प्रहार गरि १९ र इरिस ज्वेलिङ ९ बल खेलि २ चौका प्रहार गरि १४ रन बनाइृ अविजित रहिन् ।
पहिलो खेलमा आइतबार थाइल्यान्डसँग पराजित भएको थियो । ५ दिनको अन्तरमा लगातार तेस्रो खेल खेल्दै गरेको नेदरल्यान्ड्स पहिलो दुई खेल जितेर सुपर सिक्सतर्फ अग्रसर भइसकेको छ । नेपालविरुद्ध विजय हात पारे नेदरल्यान्ड्सको अर्को चरणको यात्रा निश्चित हुनेछ ।
महिला विश्व ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेदरल्यान्ड्स १४ औं र नेपाल २१ औं स्थानमा छ । चार पटक एकदिवसीय विश्वकप खेले पनि नेदरल्यान्ड्सको महिला टोली पहिलो पटक ट्वान्टी–२० विश्वकप खेल्ने दाउमा रहेको छ । २०२२ को मेमा एकदिवसीय महिला अन्तर्राष्ट्रिय मान्यता पाएको नेदरल्यान्ड्सको महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा यो तेस्रो सहभागिता हो ।
नेपाल भने महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो पटक प्रतिस्पर्धा गरिरहेको छ । थाइल्यान्डसँगको पहिलो खेलमा नेपालले ८ विकेटको हार बेहोरेको थियो ।
गत वर्ष थाइल्यान्डसहितको त्रिकोणात्मक शृंखलामा नेपाल घरेलु मैदानमा नेदरल्यान्ड्ससँग तीन खेल खेलेको थियो र सबैमा पराजित भएको थियो । पहिलो खेलमा नेपालले बनाएको १ सय ४५ रनलाई नेदरल्यान्ड्सले दुई बल अगाडि बिना क्षती १ सय ५१ रन बनाएर पार गरेको थियो । त्यसपछिको दुई खेलमा नेपाल क्रमशः १५ र २० रनले पराजित भएको थियो ।
नेदरल्यान्ड्सले पहिलो खेलमा जिम्बावेलाई २२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा स्कटल्यान्डमाथि ७ रनको विजय हात पारेको थियो ।
