गढीमाई प्रिमियर लिग क्रिकेट : उपाधिका लागि अब गढीमाई वारियर्स र टेढा टाइगर भिड्ने

बिहीबार भएको दोस्रो सेमिफाइनलमा गढीमाई वारियर्सले अठराहा स्ट्राइकर्सलाई सात विकेटले पराजित गर्दै उपाधि भिडन्तका लागि फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

माघ ८, २०८२

शंकर आचार्य

Gadhimai Premier League Cricket: Gadhimai Warriors and Tedha Tigers will now clash for the title

पर्सा — वीरगन्जमा जारी गढीमाई प्रिमियर लिग टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि अब गढीमाई वारियर्स र टेढा टाइगर भिड्ने भएका छन् ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा गढीमाई वारियर्सले अठराहा स्ट्राइकर्सलाई सात विकेटले पराजित गर्दै उपाधि भिडन्तका लागि फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

टस जितेर पहिले व्याटिङ गरेको अठराहा स्ट्राइकर्सले पूरै ओभर खेलेर सात विकेटको क्षतिमा १ सय ३१ रनको योगफल तयार पारेको थियो । उसका लागि दिलराज यादवले ३३ र अशोक यादवले २१ रनको योगदान गरे । गढीमाई वारियर्सका बलरहरू सुरज यादवले दुई र मैनुद्दिन अन्सारीले एक विकेट लिए ।

जवाफी व्याटिङमा ओर्लिएको गढीमाई वारियर्सले १४ ओभर ४ बलमै तीन विकेटको क्षतिमा विजयी लक्ष्य भेट्टायो । उसका लागि साजन रायले सर्वाधिक ५७ र उमेश पटेलले ५१ रन जोडे । अठराहा स्ट्राइकर्सका बलहरू शिवशंकर साह र दिलराज यादवले एक/एक विकेट लिए । गढीमाई वारियर्सका साजन राय ‘म्यान अफ द म्याच’ भए । फाइनल खेल माघ १७ मा हुने कार्यक्रम छ । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully