संघर्ष गर्दै अल्कारेज तेस्रो चरणमा

स्पेनी सुपरस्टार २२ वर्षीय अल्कारेजले रड लेभर एरिनामा भएको खेलमा जर्मन खेलाडी यानिक हानफमनलाई ७–६, ६–३, ६–२ ले पराजित गरे । यो जितपछि अल्कारेजको करियरमा जित्न नसकेको यस ग्रान्ड स्लामको सम्भावना जीवन्त रह्यो ।

माघ ८, २०८२

कान्तिपुर संवाददाता

Alcarez struggles in third round

काठमाडौँ — मेबलर्न (एएफपी)– शीर्ष वरीयताका कार्लोस अल्कारेज संघर्ष गर्दै बुधबार अस्ट्रेलियन ओपन टेनिसको तेस्रो चरण पुगेका छन् । महिलातर्फ यस्तै स्थिति शीर्ष वरीयताकी बेलारुसकी आर्यना सबालेन्का र दोस्रो वरीयताकी अमेरिकी कोको गफको रहेन ।

उनीहरू दुवै सजिलै अर्को चरण पुगेका छन् । तीनपल्ट फाइनल खेलका रुसी खेलाडी डानियल मेदभेदेभलाई आफ्नो ग्रान्ड स्लाम सपना कायम राख्न चार सेटको जित आवश्यक परेको थियो । मेलबर्न पार्कको गर्मीमा एलेक्जान्डर जाभरेभ पनि चार सेटको संघर्षपछि तेस्रो चरण पुगेका छन् । 

स्पेनी सुपरस्टार २२ वर्षीय अल्कारेजले रड लेभर एरिनामा भएको खेलमा जर्मन खेलाडी यानिक हानफमनलाई ७–६, ६–३, ६–२ ले  पराजित गरे । यो जितपछि अल्कारेजको करियरमा जित्न नसकेको यस ग्रान्ड स्लामको सम्भावना जीवन्त रह्यो ।

तर उनको तुलनामा १२ वर्ष जेठा खेलाडीले विशेषतः पहिलो सेटमा कडा चुनौती पेस गरेका थिए । जितपछि अल्कारेजले भने, ‘इमान्दारीपूर्वक भन्न हो भने मैले सोचेभन्दा धेरै गाह्रो भयो । पहिलो सेटमा त असाध्यै गाह्रो भयो ।’ 

उनले अहिलेसम्म आठ ग्रान्ड स्लाम उपाधि जितिसकेका छन्, तर मेलबर्नमा अहिलेसम्म अन्तिम आठको चरण भने पार गर्न सकेका छैनन् । यदि यसपल्ट अल्कारेजले अस्ट्रेलियन ओपन जित्न सकेको खण्डमा सबैभन्दा कम उमेरमा चारै ग्रान्ड स्लाम जित्ने खेलाडी बन्ने छन् ।

यसअघि २४ वर्षको उमेरमा उनकै देशका राफेल नडालले यस्तै उपलब्धि पाएका थिए । नडाल नै यस्तो दुर्लभ उपलब्धि हात पार्ने सबैभन्दा कान्छा खेलाडी पनि रहेका छन् । 

सन् २०२१, २०२२ र २०२४ का उपविजेता मेदभेदेभले शान्त खेल प्रदर्शन गर्दै फ्रान्सका क्वान्टिन हेलयसविरुद्ध ६–७, ६–३, ६–४, ६–२ को जित हात पारे ।

रुसी खेलाडीले जितपछि माने, ‘यो खेल निकै कठिन रह्यो । त्यसैले जितमा म धेरै खुसी छु ।’ जाभरेभले भने वर्षाले प्रभावित खेलमा फ्रान्सका एलेक्जान्डर मुलरलाई ६–३, ४–६, ६–३, ६–४ ले हराए । यही खेलका क्रममा उनलाई चोटका कारण उपचार पनि आवश्यक परेको थियो । 

महिलातर्फ नम्बर एक खेलाडी सबालेन्काले चिनियाँ क्वालिफायर बाइ चोक्वासनलाई ६–३, ६–१ ले हराइन् । पहिलो सेटमा ५–० ले अगाडि रहेर पनि त्यसलाई जित्न सबालेन्कालाई लामै समय पर्खिनुपरेको थियो । जितपछि उनले भनिन्, ‘पहिलो सेट जितेपछि त मैले धेरै राहत मसहुस गरें ।’

उनी पछिल्ला चार वर्षमा तेस्रोपल्ट अस्ट्रेलियन ओपन जित्ने प्रयासमा छिन् । उनले अहिलेसम्म चार ग्रान्ड स्लाम जितेकी छन् । 

तेस्रो वरीयताकी गफले सर्बियाकी ओल्गा डानिलोभिचलाई ६–२, ६–२ ले पन्छाइन् । सन् २०२४ मा मेलबर्नमा सेमिफाइनल खेलेकी गफले जितपछि आफू उत्कृष्टको नजिक रहेको प्रतिक्रिया दिइन् । यत्तिकै भाग्यमानी वरीयताप्राप्त जर्मनीकी इमा राडुकानु रहिनन् ।

उनी ५५ औं वरीयताकी अस्ट्रियाकी एनास्टिसिया पोटापोभाविरुद्धको खेलमा ७–६, ६–२ ले पराजित भइन् ।

कान्तिपुर

Link copied successfully