भारतबाट विश्वकपका खेल सर्दैन : आईसीसी

बंगलादेशलाई सहभागिता सुनिश्चित गर्न २४ घन्टाको समय दिइएको छ, अन्यथा स्कटल्यान्डले उसको स्थान लिन सक्नेछ ।

माघ ७, २०८२

कान्तिपुर संवाददाता

World Cup matches will not be moved from India: ICC

दिल्ली (एएफपी) — भारत बाहिर ट्वान्टी–२० विश्वकपका आफ्नो खेल सार्न बंगलादेशले गरेको अनुरोधलाई विश्व क्रिकेटको सर्वोच्च संस्था (आईसीसी) ले बुधबार अस्विकृत गरिदिएको छ । यसले अर्को महिना सुरु हुने विश्वकपमा बंगलादेशको सहभागिता अन्योल बनेको छ ।

ट्वान्टी–२० विश्वकप फेब्रुअरी ७ बाट भारत र श्रीलंकामा सुरु हुँदैछ । बंगलादेशले समूह चरणका आफ्ना चार खेल कोलकाता र मुम्बईमा खेल्ने तालिका छ । बंगलादेशले क्रिकेट बोर्ड (बीसीबी) ले लगातार रुपमा सुरक्षाको कारण देखाई भारतमा गएर आफ्नो खेल्न अस्विकार गर्दै आएको छ । मंगलबार मात्र बंगलादेशले आफ्नो अडानमा कुनै परिवर्तन नभएको जनाएको थियो ।

आईसीसीले बुधबार एक विज्ञप्तीमार्फत भनेको छ, ‘स्वतन्त्र सुरक्षा निकायले समेत बंगलादेश क्रिकेट टोलीलाई भारतमा कुनै खतरा नरहेको रिपोर्ट दिएको छ, त्यसैले आईसीसीले खेल अन्यत्र सार्ने छैन ।’ भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को निर्देशनमा इन्डियन प्रिमियर लिगको टोली कोलकाता नाइट राइडर्सले जनवरी ३ मा बंगलादेशका तीब्र बलर मुस्ताफिजुर रहमानलाई आफ्नो टोलीबाट हटाएपछि यी दुई देशबीच विवाद बढेको थियो ।

त्यसपछि बंगलादेशले सुरक्षाको कारण देखाई भारतमा गएर ट्वान्टी–२० विश्वकपका खेल खेल्न सक्ने अवस्था नरहेको जनाएको थियो । भिडियो कन्फ्रेन्समार्फत बुधबार बसेको आईसीसी बैठकमा बहुमतले बंगलादेशले नखेलेमा उसको स्थानमा अर्को टोलीको व्यवस्था गर्ने जनाएको थियो । बंगलादेशको समर्थनमा पाकिस्तान मात्र रहेको थियो भने बोर्ड बैठकमा भर्च्युल रुपमा उपस्थित अन्यले बंगलादेशको विकल्प हेर्नुपर्नेमा जोड दिएका थिए ।

भारतमा खेल्दा बंगलादेशको क्रिकेट टिम, सञ्चारकर्मी, अधिकारी र प्रशंसकलाई सुरक्षाको कुनै चुनौती नहुने सुरक्षा संयन्त्रमार्फत आएको रिपोर्टको आधारमा आईसीसी बैठकले यो निर्णय गरेको जनााएको छ ।

बंगलादेशलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न १ दिनको समय दिइएको छ । अन्यथा उच्च वरीयताको आधारमा स्कटल्यान्डले बंगलादेशको स्थान लिन सक्ने छ । युरोपको छनोटमा नेदरल्यान्ड्स र इटालीभन्दा पछाडि परेपछि स्कटल्यान्ड ट्वान्टी–२० विश्वकपका छनोट हुन असफल भएको थियो । बंगलादेशले आफ्नो खेल भारतबाट हटाई श्रीलंकामा सार्न अनुरोध गरेको थियो । एएफपीको कोलम्बो स्रोतका अनुसार बंगलादेशका खेल त्यहाँ गर्न अहिलेसम्म कुनै अनुरोध नआएको जनाएको छ ।

आईसीसीको पछिल्लो निर्णयमा बंगलादेशले केहि प्रतिक्रिया जनाइसकेको छैन । आईसीसीले भने बंगलादेशको विश्वकपमा सहभागिताका लागि लचकता अपनाएको जनाएको छ । तर अहिलेसम्म बंगलादेशबाट आईसीसीले कुनै सकरात्मक प्रतिक्रिया पाएको छैन ।

२०२४ मा ढाकामा भएको जनआन्दोलनले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरेको थियो । त्यसपछि उनी भारतमा शरण लिइरहेकी छन् । त्यसयता बंगलादेशमा भइरहेको आन्दोलनमा अल्पसंख्यकहरुलाई चरण दमन गरिएको भन्दै भारतले आपत्ति जनाएको थियो । विश्वकपको दौरान बंगलादेशमा आम चुनाव हुने तालिका पनि रहेको छ । बंगलादेशले २०१४ को ट्वान्टी–२० विश्वकप आयोजना गरेको थियो ।  

कान्तिपुर संवाददाता

Link copied successfully