आयोजक धरान फुटबल क्लबले माघ २२ देखि फागुन २ सम्म धरान रंगशालामा हुने प्रतियोगिताको खेल तालिका बुधबार सार्वजनिक गरेको हो ।
सुनसरी — माघ २२ गतेदेखि सुरु हुने २६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
आयोजक धरान फुटबल क्लबले माघ २२ देखि फागुन २ सम्म धरान रंगशालामा हुने प्रतियोगिताको खेल तालिका बुधबार सार्वजनिक गरेको हो । स्वदेशी तथा विदेशी गरी १० टिम सहभागी हुने प्रतियोगिता उद्घघाटन खेलमा माघ २२ गते बिहीबार धरान फुटबल क्लबले भारतको जर्जियन फुटबल क्लबको सामना गर्नेछ ।
त्यस्तै, माघ २३ गते भुटानको रोयल थिम्पु फुटबल क्लब र झापा–११ झापाबीच दोस्रो प्रि–क्वाटरफाइनल खेल हुनेछ । क्वार्टरफाइनल चरणका खेलहरूमा माघ २४ गते प्लानिङ ब्वाइज युनाइटेड काठमाडौं र साविक विजेता न्यू-रोड टिम काठमाडौं, माघ २५ गते नेपाल पुलिस क्लब काठमाडौं र चर्च ब्वाइज युनाइटेड काठमाडौं तथा माघ २७ गते झापा–११ र सातदोबाटो युथ क्लब ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, माघ २६ गते उद्धघाटन खेलको विजेताले लालीगुरास फुटबल क्लब पोखरासँग प्रतिस्पर्धा गर्नेछ ।
सेमिफाइनल खेलहरू माघ २८ र २९ गते आयोजना हुनेछन् भने प्रतियोगिताको फाइनल खेल फागुन २ गते शनिबार सम्पन्न हुनेछ ।
धरानमा लामो समयदेखि सञ्चालन हुँदै आएको बुढासुब्बा गोल्डकपलाई नेपाली फुटबलको प्रतिष्ठित प्रतियोगिताका रूपमा लिइन्छ । यस वर्ष विदेशी टिमको सहभागितासँगै १० वटा टिम सहभागी भएकाले प्रतियोगिता थप प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आयोजकको विश्वास छ ।
