पोखरेली टिम लालीगुराँस लगातार दोस्रो जित निकालेर राष्ट्रिय लिगको शीर्षस्थानमा
काठमाडौँ — मछिन्द्र एफसीले राष्ट्रिय लिग फुटबलमा सोमबार लगातार दोस्रो जित आत्मसात् गरेको छ । यस्तोमा भित्रि काठमाडौंको यो क्लब उपाधिका लागि बलियो दाबेदार देखिएको छ ।
लालीगुराँसपछि यही टिम हो, अहिलेसम्म लगातार दुई खेल जित्ने । यस्तोमा दोस्रो स्थानमा पनि रह्यो, खालि गोल अन्तरको कारण । तर क्लब आफैं टिमको प्रदर्शनमा खुसी देखिएन् । प्रशिक्षक प्रवेश कटुवालले पनि माने, टिममा सुधार धेरै आवश्यक छ ।
मैदानमा उत्रनु अगाडि उनलाई मात्र होइन, धेरैलाई अपेक्षा थियो मछिन्द्र ठूलो अन्तरले विजयी हुनेछ । तर दोस्रो खेलमा प्राप्त जित साँघुरो रह्यो । त्यसैले प्रशिक्षक कटुवालले ठीकै भने, ‘मनाङ पहिलो खेलमा जसरी हारेको थियो, त्यो अर्थमा उसका विरुद्ध हामी धेरै गोल अन्तरले जित्नुपर्ने थियो, तर त्यस्तो भएन ।’ त्यसमाथि मछिन्द्रले जसरी गोल खाएको थियो, त्यो नभए हुन्थ्यो भन्ने नै थियो ।
कप्तान तथा गोलरक्षक विशाल श्रेष्ठले सायद नबुझेर हेलचेक्र्याइँ गरे । जतिबेला उनलाई यसको हेक्का भयो, मनाङका विशेष लामाले बराबरी गोल फर्काइसकेका थिए । पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा सम्भव यो गोलले मछिन्द्रबाट ३ अंक भने खोस्न सकेन । प्रशिक्षक कटुवालले विशालको खुलेर आलोचना गरेनन् । तर उनको तर्क थियो, सबै खेलाडीले राम्रोसँग तयारी गर्न सकेन भने यस्तै हुन्छ । त्यसको अर्थ के भने अबको खेलमा मछिन्द्रले अझ बढी मिहिनेत गर्नुपर्नेछ ।
दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले आठौं मिनेटमा सनिश श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । साँच्चै लागिरहेको थियो, अब गोलको वर्षा हुनेछ । तर त्यस्तो केही पनि भएन । खेलको निर्णायक गोल भने जोनाथन एडुवार्डोले ५७ औं मिनेटमा गरे । मनाङको यो लगातार दोस्रो हार हो । टिम निराशाजनक रूपमा अंकविहीन रह्यो । तर सहायक प्रशिक्षक शैलेश कर्माचार्यलाई लाग्छ, पहिलो खेलको तुलनामा टिमको प्रदर्शना सुधार आएको छ ।
उनलाई के पनि विश्वास छ भने मनाङले अबका खेलमा अझ राम्रो खेल्नेछ । उनको तर्क थियो, ‘यो प्रतियोगिताका लागि भनेर हामीले युवा खेलाडीमा भर परिरहेका छौं । ‘ए’ डिभिजन हुन्थ्यो भने हामीले राम्रो टिम बनाउने थियौं । यसका बावजुत पनि हामी अबका खेलमा मनाङले राम्रो खेल्ने भन्नेमा विश्वास गर्छौं र देख्न पनि पाइने छ ।’ त्यस अर्थमा मनाङ पराजित त रह्यो, तर प्रशिक्षक कर्माचार्य मछिन्द्रका कुटवाल जत्तिको पनि निराश थिएनन् ।
यो खेल हेर्न जति दशरथ रंगशालामा थिए, तिनलाई भने एउटा तथ्यले पिरोर्ने छ । घरेलु फुटबलका लागि मछिन्द्रविरुद्ध मनाङको सबैभन्दा आकर्षकमध्ये एक खेल हुनुपर्ने हो । तर यही खेल हेर्न दर्शकको संख्या हातले गन्न सकिने खालेको थियो । कुरा यत्तिकैमा सकिन्न, कुनै बेला मनाङको खेल हुँदा यसका समर्थक धेरै संख्यामा मैदानमा आउँथे । यस्तोमा प्रश्न हो, ती कता गए होलान् ? अझ मुख्य कुरा ती समर्थक क्लबसँग किन टाढिएका होलान् ?
एनआरटी लयमा
एनआरटीका लागि प्रतियोगिताको सुरुआत राम्रो रहेन, पहिलो खेलमै पराजित रहेको थियो मछिन्द्रसँग । त्यति बेला उसको समस्या देखिएको थियो, गोलका लागि निर्णायक आक्रमण । तर यही एनआरटीले सातदोबाटोविरुद्ध भने त्यसको उत्तर पाएको छ । यो जितले एनआरटीको ३ अंक भएको छ । सातदोबाटो भने एकै अंकमा सीमित रह्यो । बालगोपाल साहुखलले चाँडै टिममा फरक देखिने निर्णय लिनुपर्नेछ ।
दशरथ रंगशालामा भएको खेलमा एनआरटीका लागि विज्ञान खड्काले दुई गोल गरे । उनले आठौं मिनेटमा पहिलो गोल गरेपछि दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो गोल थपे । यसबीच टिमोथी चिमेरी ओकेरेकेले १७ औं मिनेटमा दोस्रो गोल थपेका थिए । सातदोबाटोका लागि नेपालको घरेलु फुटबलका सदाबहार गुएनाका खेलाडी फोडे फोफानाले ३३ औं मिनेटमा एक गोल फर्काए, तर टिम आफैं खेलमा फर्कन सकेनन् ।
पोखरेली टिम शीर्षमा
सातदोबाटोमा भएको खेलमा पोखरेली टिम लालीगुराँसले लगातार दोस्रो जित निकालेर प्रमाणित गरेको छ, प्रतियोगितामा यसले यस्तै लय समात्ने छ भने उपाधिको होडमा रहेका टिमलाई राम्रो चुनौती पेस गर्नेछ । लगातार जितबाट प्राप्त ६ अंकले लालीगुराँस धनी देखिएको छ र सायद धेरैको अपेक्षा विपरीत अहिलेका लागि शीर्षस्थानमा उक्लेको छ । उसका लागि आशिष गुरुङले दुई गोल गरे, ५५ र ६० औं मिनेटमा ।
खेलको पहिलो गोल भने अब्दुल युसुफको नाममा रह्यो । उनले २६ औं मिनेटमा गोलको खाता खोले । अन्तिम गोल भने एकोटे जुनियरले ८९ औं मिनेटमा गरे । नवजागृतिबाट सम्भव भएको एकमात्र गोल दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा सम्भव भएको थियो र त्यसको श्रेय उमेश सञ्ज्याललाई जानेछ । तर यो सान्त्वना गोलभन्दा केही बढी रहेन । नव जनजागृतिको यो लगातार दोस्रो हार हो । टोलीका लागि अब लिग लामो समय चल्ने संघर्षपूर्ण प्रतियोगिता साबित हुन सक्नेछ ।
आजको खेल
पुलिसविरुद्ध चित्लाङ
प्लानिङ ब्वाइजविरुद्ध आर्मी
