नेपालले जुन हिसाबमा उत्कृष्ट सुरुआत गरेको थियो, त्यही अनुसार नेपाललाई पतन हुन पनि धेरै समय लागेन । अन्ततः नेपाली टोली ८ विकेटको पराजय भोग्न बाध्य भयो ।
What you should know
काठमाडौँ — नेपालले पछिल्लो पटक थाइल्यान्डलाई महिला क्रिकेटमा पराजित गरेको नै १५ वर्ष भइसकेको छ । यसक्रममा एसोसिएट क्रिकेट छविबाट थाइल्यान्डले विश्व क्रिकेटमा आफ्नो दायरा निकै फराकिलो बनाइसक्यो ।
आईसीसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट आइतबार काठमाडौंमा सुरु हुँदा नेपालसामु थाइल्यान्डलाई सन् २०११ यता पहिलो पटक हराउने अवसर थियो । त्यो पनि आफ्नो भूमिमा । तर कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले जुन हिसाबमा उत्कृष्ट सुरुआत गरेको थियो, त्यही अनुसार नेपाललाई पतन हुन पनि धेरै समय लागेन । अन्ततः नेपाली टोली ८ विकेटको पराजय भोग्न बाध्य भयो ।
टस हारेपछि ब्याटिङ निम्तो पाएको नेपाल पुरा २० ओभर ब्याटिङ गरी १ सय २२ रनमा अलआउट भयो । पहिलो ५ ओभरमै विनाक्षति ४७ रन जोडेको थियो, तर त्यसपछि १५ ओभरमा नेपालले ७५ रनमात्र बनाएर १० विकेट गुमायो ।
सम्झना खड्का र विन्दु रावलले उत्कृष्ट सुरुआत दिलाए पनि मध्यक्रममा धराशायी हुँदा नेपालले त्यसको फाइदा उठाउन सकेन । सम्झना आउट भएपछि नेपालको रनमा अंकुश लागेको थियो भने लगातर विकेट पनि झरिरह्यो । सम्झनाले ११ बल खेल्दै ६ चौकासहित २६ र विन्दुले ५६ बलमा ६ चौकासहित ४४ रन बनाए । विन्दुको यो व्यक्तिगत उच्च स्कोर हो । सन् २०१९ मा कुवेतविरुद्ध अविजित २८ रन बनाउनु यसअघि उनको उच्च स्कोर थियो ।
उपकप्तान पूजा महतो १७ बलमा १२, कप्तान इन्दु बर्मा ६ बलमा ६, कविता कुँवर ४ बलमा २ रन बनाएर आउट भए । पूर्व कप्तान रुबिना क्षेत्री २ छक्का र १ चौकासहित १७ रनमा आउट भइन् । कविता जोशी ७ बलमा ३ रनमात्र बनाइन् ।
‘सम्झना र विन्दुले जुन सुरुआत गरेकी थिइन्, त्यसअनुसार हामीले ३०–४० रन नै थोरै बनायौं । पहिलो १० ओभर राम्रो खेलेका थियौं । पूजा र म आउट हुँदा ठूलो स्कोर बनाउन सकेनौं जस्तो लाग्छ,’ नेपालकी कप्तान इन्दु बर्माले भनिन्, ‘मध्यक्रमले जिम्मबार भएर खेलेको भए १ सय ५० रन चाहिँ हुन्थ्यो होला, अलिकति पतनजस्तै भयौं । मैले र रुबिना दिदीले सम्हालेर खेल्नुपर्ने हुन्छ होला ।’
सीता रानामगर शून्यमै आउट भइन् । रिया शर्मा ४ र सुमन विष्ट शून्यमा आउट भए । थाई खेलाडी थिपात्चा पुथावोङले ४ विकेट लिइन् । उनले ४ ओभरमा २७ रन खर्चेकी थिइन् । ओनिचा कामचोम्फुले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिइन् ।
थाइल्यान्डले १७ ओभरभित्रै १ सय २५ रन बनाएको थियो । अफिसरा सुवानचोनराथी र नथाकन चानथमले ९ ओभरमै ६६ रन जोडेर थाई टिमलाई उत्कृष्ट सुरुआत दिलाए । सुवानचोनराथी ३२ बल खेल्दै २ चौकासहित २८ रनमा सीताबाट बोल्ड भइन् ।
सीताले नानापात कोनचारोइन्काईलाई पनि एलबीडब्लू आउट गरिन् । तर त्यतिखेर सम्म नेपाललाई धेरै ढिला भइसकेको थियो । थाइल्यान्ड विजयभन्दा १० रन टाढा भएको समयमा आउट भएकी कोनाचारोइन्काईले २५ बलमा ६ चौका प्रहार गर्दै ३२ रन जोडेकी थिइन् । प्लेयर अफ द म्याचमा भने चानथम चुनिइन् । उनले ३९ बलमा ९ चौका र १ छक्कासहित अविजित ५७ रन बनाइन् ।
नेपाल गत वर्ष त्रिकोणात्मक शृंखलामा पनि थाइल्यान्डसँगको तीनै खेलमा पराजित रहेको थियो । गत वर्ष मार्चमा बैंककमा भएको एसिया छनोटमा विजेता र उपविजेता बन्दै थाइल्यान्ड र नेपाल यस ग्लोबल प्रतियोगिताका लागि छनोट भएका थिए । थाइल्यान्डले सन् २०२० को ट्वान्टी–२० विश्वकप खेलिसकेको छ भने नेपाल पहिलो पटक ग्लोबल छनोट खेलिरहेको छ ।
‘पहिलाभन्दा हाम्रो खेल धेरै राम्रो भएको छ, आगामी खेलमा हामी निश्चय पनि बलियो भएर आउने छौं । हाम्रो खेल अझै बाँकी छ, आफ्नो खेलमा अझै सुधार गर्दै लैजान्छौं,’ कप्तान इन्दुले भनिन्, ‘योजनाअनुसार खेल्दै जाने हो भने हामी अझै राम्रो खेल्न सक्छौं । ठूला टोलीहरूसँग खेल्दा हामीले सिकिरहेका छौं ।’
नेदरल्यान्ड्सको जित
नेदरल्यान्ड्सले पहिलो दिन समूह ‘बी’ को अर्को खेलमा जिम्बावेलाई २२ रनले पराजित गरेको छ । चार पटक ट्वान्टी–२० विश्वकप खेलिसकेको नेदरल्यान्ड्स १९ ओभरमा १ सय २२ रनमा अलआउट भयो । क्रिस्टेबल चाटोन्जवाले ५ विकेट लिएपछि जिम्बावेले उत्कृष्ट बलिङ प्रदर्शन गरेको थियो । तर पहिलो पटक विश्वकपमा पुग्ने आसमा रहेको जिम्बावेले पूरा २० ओभर खेले पनि ८ विकेट गुमाई १ सय रनमात्र बनाउन सक्यो ।
समूह ‘ए’ मा दाबेदार बंगलादेश र आयरल्यान्डले विजयी सुरुआत गरेका छन् । बंगलादेशले अमेरिकालाई २१ रनले पराजित गर्यो । पहिला ब्याटिङ गरेको बंगलादेशले ५ विकेट गुमाई १ सय ५८ रन बनाएको थियो । जबाफमा अमेरिकाले ९ विकेट गुमाई १ सय ३७ रनमात्र बनाउन सक्यो ।
आयरल्यान्डले पपुवा न्युगिनीलाई ४१ रनले हरायो । कप्तान ग्याबी लुइसले २५ बलमा ४२ र ओर्ला प्रेन्डरगास्टले ४४ बलमा ५६ रन बनाएपछि आयरल्यान्डले ६ विकेट गुमाई १ सय ४६ रन बनायो । पपुवा न्युगिनीले ६ विकेट गुमाई १ सय ५ रनमात्र बनाउन सक्यो ।
दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा एकअर्कासँग खेलेपछि शीर्ष चार टोली जुन–जुलाईमा इंग्ल्यान्ड र वेल्समा हुने ट्वान्टी–२० विश्वकपमा पुग्नेछन् ।
