१७ वर्षे अभिक हिमालयन चेस एकेडेमीद्वारा आयोजित पहिलो प्रतियोगिता एसईई कप विजेता हुन् ।
काठमाडौँ — सेन्ट जेभियर्सका अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा नवौं चरणमा हार्दिक पन्तलाई हराए । १९१८ रेटेड उनले कुल २७ अंक बटुले ।
लगातार ९ दिनको प्रतिस्पर्धापछि द ब्रिटिस कलेजका सजल न्यौपाने (१९ अंक) उपविजेता भए भने संस्कार गुरुकुलका आशीर्वाद थापा (१८ अंक) तेस्रो स्थानमा रहे । कुल १ लाख ३५ हजार रुपैयाँ पुरस्कार राशिको क्लासिकल चेसमा प्रत्येक खेलमा हरेक खेलाडीले ९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय पाएका थिए । १७ वर्षे अभिक हिमालयन चेस एकेडेमीद्वारा आयोजित पहिलो प्रतियोगिता एसईई कप विजेता हुन् ।
सजलले ६ जित, १ बराबरी र २ हारको नतिजा निकाले । उनले अन्तिम खेलमा सात्विक मानलाई पराजित गरे । आशीर्वादले अन्तिम खेलमा लियोन महर्जनलाई हराएर तेस्रो स्थान हात पारे । उनले ५ जित, ३ बराबरी र १ हारको नतिजा निकाले । मातृभूमिका प्रविर केसीले पनि १८ अंक बटुले । तर, उनलाई टाइब्रेकमा उछिन्दै आशीर्वाद शीर्ष तीनमा रहे । उनले अन्तिम खेलमा निहाना श्रेष्ठलाई हराए । महिलातर्फ निहाना (१५ अंक) विजेता भइन् । समान १५ अंक जोडे पनि टाइब्रेकका आधारमा उजिभानी कँडेल दोस्रो र ओजस्वी श्रेष्ठ तेस्रोमा रहे । यू–८ तर्फ विराज सरिया (३ अंक), यू–१० मा शुभाङ्ग प्रधान (१५ अंक), यू–१२ मा हार्दिक पन्त (१७ अंक), यू–१४ मा प्रविर केसी (१८ अंक) र यू–१६ मा विमश लोहनी (१७ अंक) विजेता भए । अरिज राई (१५ अंक) ले इमर्जिङ प्लेयरको अवार्ड प्राप्त गरे ।
हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू, पूर्वसचिव जीवनप्रभा लामा, राखेप सदस्य कुमार लामा घिसिङलगायतले पुरस्कृत गरे ।
