महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोट आजदेखि काठमाडौंमा

१० राष्ट्र सहभागी छनोट प्रतियोगिताका ४ शीर्ष टोली विश्वकपमा पुग्ने

माघ ४, २०८२

विनोद पाण्डे

Women's Twenty20 World Cup Global Qualifiers begin in Kathmandu today

What you should know

काठमाडौँ — भन्नै परेन, आईसीसी ट्वान्टी–२० महिला विश्वकप ग्लोबल छनोट नेपालले अहिलेसम्म आयोजना गर्न लागेको सबैभन्दा ठूलो प्रतियोगिता हो । महिला क्रिकेटमा नेपालले ग्लोबल छनोट प्रतियोगिता खेल्न लागेको पनि पहिलो पटक हो । गत मेमा थाइल्यान्डमा सम्पन्न एसिया क्षेत्रीय छनोट प्रतियोगिताको सेमिफाइनलमा यूएईलाई पराजित गर्दै नेपालले यो यात्रा तय गरेको थियो ।

नेपाल पहिलो पटक ग्लोबल छनोटमा पुगेसँगै नेपाली भूमिमा सबैभन्दा ठूलो प्रतियोगिता भित्रिएको हो । प्रतियोगितामा नेपालसहित बंगलादेश, जिम्बावे, आयरल्यान्ड, स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, नामिबिया र अमेरिका गरी १० राष्ट्र प्रतिस्पर्धी छन् । बंगलादेश, जिम्बावे र आयरल्यान्ड टेस्ट मान्यताप्राप्त राष्ट्र हुन् । टेस्ट मान्यताप्राप्त राष्ट्रको पूर्ण टोली पहिलो पटक नेपाल आएर खेल्दै छन् ।

‘यो स्थानसम्म आइपुग्न उत्तिकै मिहिनेत गरेका छौं र ठूला राष्ट्रसँग खेल्न पाउँदा त्यति नै उत्साही पनि छौं,’ नेपालकी कप्तान इन्दु बर्माले शनिबार प्रि–म्याच कन्फ्रेन्समा भनिन्, ‘नेपालले यति ठूलो प्रतियोगिता आयोजना गर्न पाउनु पनि गर्वको विषय हो । हामी मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन दिन प्रयास गर्नेछौं ।’ प्रतियोगितामा दर्शकलाई प्रवेश निःशुल्क गरिएको छ । 

समूह ‘बी’ मा रहेको नेपालले आइतबार दिउँसो थाइल्यान्डसँग खेलेर प्रतियोगिता सुरु गर्नेछ । त्यसपछि २२ जनवरीमा नेदरल्यान्ड्ससँग, २४ जनवरीमा जिम्बावेसँग र २६ जनवरीमा स्कटल्यान्डसँग खेल्नेछ ।

नेपालले जिम्बावे र स्कटल्यान्डसँग पहिलो पटक खेल्न लागेको हो । जिम्बावे पहिलो पटक विश्वकपमा छनोट हुने दाउमा छ । प्रतियोगिताका खेल कीर्तिपुर र माथिल्लो मूलपानी मैदानमा हुनेछन् । नेपालका सबै खेल कीर्तिपुरमा परेका छन् । कीर्तिपुरमा हुने पहिलो दिनको दोश्रो खेलमा आज नेदरल्याण्डस् र जिम्बावेले प्रतिस्पर्धा गर्दैछन्।

समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् । दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा एकअर्को टोलीसँग सामना गरेपछि शीर्ष चार टोली जुन–जुलाईमा इंग्ल्यान्ड र वेल्समा हुने ट्वान्टी–२० विश्वकपमा पुग्नेछन् । 

आयरल्यान्ड र अमेरिकासँगको अभ्यास खेलले नेपाललाई प्रतियोगितामा राम्रो प्रदर्शन गर्न ठूलो चुनौती रहने देखाइसकेको छ । सहभागी १० टोलीमा महिला टी–२० अन्तर्राष्ट्रिय वरीयताको हिसाबमा नेपाल नवौं र अमेरिका १० औं स्थानमा छन् । त्यही अमेरिकासँग नेपाल शुक्रबार दोस्रो अभ्यास खेलमा ६ विकेटले पराजित भयो । 

आयरल्यान्डसँगको पहिलो अभ्यास खेलमा नेपाल ९९ रनले पराजित भयो । कप्तान इन्दु अभ्यास खेलले नेपाली टोलीलाई प्रतिद्वन्द्वीको स्तर बुझ्न सहयोग गरेको बताउँछिन् । अन्य टोलीका कप्तानहरूको भने लगभग उस्तै भनाइ छ, ‘दुई अभ्यास खेलले आफ्नो टोलीलाई यहाँको मैदानमा झिज्न निकै मदत गरेको छ ।’

नेपालको पहिलो प्रतिद्वन्द्वी थाइल्यान्डले २०२० मा ट्वान्टी–२० विश्वकप खेलिसकेको छ । एक समय थाइल्यान्डभन्दा नेपाल निकै माथि थियो । तर अहिले नेपालले थाइल्यान्डलाई २०११ यता पराजित गर्न सकेको छैन । गत वर्ष थाई टोली काठमाडौं आउँदा नेपालले त्रिकोणात्मक शृंखलाका तीनै खेलमा पराजय भोगेको थियो । 

गत वर्ष बैंककमा भएको विश्वकप एसिया क्षेत्रीय छनोट प्रतियोगिताको फाइनलमा पनि थाइल्यान्डले नेपाललाई पराजित गरेको थियो । थाइल्यान्डकी कप्पान नारुइमोल चाइवाईले दोस्रो पटक विश्वकपमा पुग्ने लक्ष्यसाथ आफ्नो टोलीले भारतमा विशेष प्रशिक्षण लिएर आएको सुनाइन् । 

विगतमा थाइल्यान्डका प्रशिक्षक रहेका हर्शल पाठक नेपालका लागि मुख्य हतियार बन्न सक्छन् । नेपालले यी भारतीय प्रमुख प्रशिक्षकलाई जिम्मेवारी दिएको एक महिना पनि भएको छैन । उनको प्रभाव अमेरिकासँगको अभ्यास खेलमा देखिएको थियो, जहाँ नेपालका माथिल्लोक्रमका ब्याटरले खुलेर खेलेका थिए । तर मध्यक्रम भत्कँदा नेपालले १ सय ५० रनको आँकडा छुन सकेन । 

अमेरिकासँगको अभ्यास खेलमा फिल्डिङ गर्दा घाइते भएकी विन्दु रावलले खेल्ने नखेल्ने अझै निश्चित भएको छैन । विन्दुले खेल्न नसके उनको स्थान प्लेयिङ ११ मा सीता रानामगर पर्न सक्नेछिन् । प्रतियोगिता सफलतापूर्वक आयोजना गर्नुका साथै महिला टोलीको प्रदर्शनमा पनि ध्यान दिनुपर्ने दोहोरो जिम्मेवारीमा नेपाल क्रिकेट संघ (क्यान) छ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully