सारा गर्ल्स सिंगल्स च्याम्पियन

बूढानीलकण्ठमा भइरहेको प्रतियोगिताको फाइनलमा साराले अनुश्री ध्वजुलाई ६–४, ६–२ को सोझो सेटमा पराजित गरिन् ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Sara Girls Singles Champion

काठमाडौँ — सारा पन्त फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यू–१४ गर्ल्स सिंगल्समा च्याम्पियन बनेकी छन् ।

बूढानीलकण्ठमा भइरहेको प्रतियोगिताको फाइनलमा साराले अनुश्री ध्वजुलाई ६–४, ६–२ को सोझो सेटमा पराजित गरिन् । सो स्पर्धाको ब्वाइजमा विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेलले फाइनल भेट पक्का गरे । विश्वाले प्रारथ्या रिजाललाई ६–१, ६–१ र अर्याशले सभ्यजंग कार्कीलाई ६–२, ६–२ को सोझो सेटमा हराए ।

यू–१८ सिंगल्सको ब्वाइजमा आयुष्मान घले र गर्ल्समा स्वस्तिका विष्ट विजेता भए । फाइनलमा आयुष्मानले असभसम्राट हाडालाई ६–१, ६–१ र स्वस्तिकाले आद्या पौडेललाई ६–१, ६–२ ले हराए ।

यू–८ ब्वाइज सिंगल्समा सर्वज्ञजंग खत्री विजेता भए । उनले फाइनलमा भन्सिल अग्रवाललाई १०–३, १०–१ ले हराए । गर्ल्स फाइनलमा भानी राजभण्डारीले अनुपमा श्रेष्ठलाई १०–७, १०–३ ले हराइन् ।

यू–१६ गर्ल्स सिंगल्समा स्वस्तिका विष्टले स्वर्ण जितिन् । स्वस्तिकाले फाइनलमा स्वराह थापामाथि ६–१, ६–१ को सहज जित दर्ता गरिन् । ब्वाइजमा साङ्गे रोकायाले सुरेन्द्र विकलाई ६–२, ६–१ र असभसम्राट हाडाले प्रारथ्या रिजाललाई ६–१, ६–० ले पराजित गर्दै फाइनल यात्रा तय गरे ।

यू–९ ब्वाइज सिंगल्समा टोनिस श्रेष्ठले सोनाम छिरिङ घलेलाई ४–२, ४–१, यू–१० गर्ल्स सिंगल्समा निम्ति कुँवरले अमाइरा गुप्तालाई ६–३, ७–६ र यू–१२ ब्वाइज सिंगल्समा आरित मल्लले सभ्यजंग कार्कीलाई २–६, ६–१, ७–५ ले फाइनलमा हराएर स्वर्ण जिते ।

ब्वाइज डबल्समा दर्सिल श्रेष्ठ र असभसम्राट हाडाको जोडीले बाजी मार्‍यो । उक्त जोडीले फाइनलमा शाश्वत वज्राचार्य र आयुष्मान घलेको जोडीलाई ६–४, ५–७, १०–७ ले हरायो ।

कान्तिपुर

Link copied successfully