एनआरटीविरुद्ध मछिन्द्र क्लबको संघर्ष

दशरथ रंगशालामा राष्ट्रिय लिगको खेलमा मछिन्द्र १–० ले विजयी

माघ ३, २०८२

कान्तिपुर संवाददाता

Machhindra Club's struggle against NRT

What you should know

काठमाडौँ — मछिन्द्र क्लबलाई राष्ट्रिय लिग फुटबलको उपाधिका लागि बलियो प्रत्याशी मान्ने हो भने शुक्रबार त्यस्तो जित निकालेको छ, जसले टोलीलाई अन्त्यसम्म फाइदा हुन सक्नेछ । दशरथ रंगशालामा भएको खेलमा एनआरटीलाई हराउन मछिन्द्रले संघर्ष गर्नुपरेको थियो, तर त्यसमै प्राप्त ३ अंकको ठूलो अर्थ हुनेछ ।

त्यसैले प्रशिक्षक प्रवेश कटुवालले पनि यो जितलाई ठूलै महत्त्व दिन खोजे । उनले भने, ‘आजको खेल कठिन रह्यो । एनआरटी त्यस्तो प्रतिद्वन्द्वी हो, जसले नियमित अभ्यास गर्छ । अहिले हामीले त्यस्तै टिमलाई हराएका छौं ।’

खेलको एकमात्र गोल भने एलिक श्रेष्ठको नाममा रह्यो र उनले ६३ औं मिनेटमा गरे । यो आफैंमा उत्कृष्ट गोल पनि रह्यो । पेनाल्टी एरियाको ठीक बाहिर प्राप्त बललाई उनले शक्तिशाली प्रहार गर्दै पोस्टको दिशा दिए । उनको ‘लेफ्ट फुटेड’ शटलाई रोक्ने अवसर एनआरटीका गोलरक्षक विशाल सुनारलाई थिएन ।

प्रशिक्षक कटुवालले उक्त गोलको पनि प्रशंसा गरे । उनको भनाइ थियो, ‘यो पक्कै पनि उत्कृष्ट गोल हो । उनको प्रशंसा गर्नुपर्छ । अझ यो त्यस्तो खेलाडीबाट गोल निस्केको छ, जसको उमेर भर्खर १७ वर्ष भएको छ ।’ एलिक नेपालको उमेर समूह टिमका खेलाडी हुन् । उनले यो गोलसँगै भविष्यमा अझ धेरै आस गर्न सकिने विश्वास पनि दिलाएका छन् । प्रशिक्षक कटुवालले के माने भने यसअघिको मछिन्द्रको तुलनामा अहिलेको टिम सायद उस्तै बराबरीको छैन ।

खेलको पहिलो हाफको अधिकांस समय खासै रोमाञ्चक रहेन । दुवै टिम सटिक आक्रमण बुन्न समेत असफल रहे । पहिलो हाफको अन्त्यतिर खेलले लय समातेको थियो र त्यो अन्त्यसम्म कायम भने रह्यो । एनआरटीको खेल पनि आफैंमा खराब रहेन, तर समस्या गोल निकाल्न असफल रहनु नै रह्यो । एनआरटकिा प्रशिक्षक जीवन सिन्केमानले टिमको प्रदर्शनमा खासै धेरै गुनासो नरहेको बताए ।

उनको भनाइ थियो, ‘प्रतियोगिताको पहिलो खेल हो, टिमको प्रदर्शन ठीकै रह्यो, गोलमात्र निस्केन ।’ उनले अबको खेलमा गोल गर्नका लागि टिमले मिहिनेत गर्ने बताए । विशेषतः खेलको दोस्रो हाफमा दुवै टिमले नियमित अन्तरमा गोलको अवसर बनाए पनि त्यसबाट फाइदा लिन भने दुवै टिम चुके । यो नै खेलको सबैभन्दा निराशाजनक पक्ष रह्यो । नेपाली राष्ट्रिय टिम नै गोलको समस्याबाट गुज्रिरहेको बेला यसको कारण यही खेलले भनिरहेको थियो ।

त्यति मात्र होइन, यस प्रतियोगिताका सुरुआती पाँच खेल सकिँदा त्यसले संकेत गरेको छ, सम्भवतः सबैले टिमले गोलका लागि संघर्ष गर्नुपर्नेछ । यी पाँच खेलमा ८ गोल मात्र निस्केको छ । त्यसमध्ये चार गोल फ्रेmन्ड्स र काँत्रेबिहारबीचको पहिलो खेलमै निस्केको थियो । अहिलेको राष्ट्रिय लिगले गोल गर्न सक्ने कोही खेलाडी उत्पादन गर्न सक्छ भने त्यसले नेपाली फुटबललाई ठूलो गुन लगाउने छ ।

कान्तिपुर

Link copied successfully