ब्याटिङमा सुधार, हार कायमै

महिला ट्वान्टी–२० विश्वकप छनोटको अभ्यास खेलमा नेपाली टोली अमेरिकासँग ६ विकेटले पराजित

माघ ३, २०८२

कान्तिपुर संवाददाता

Improvement in batting, continued defeat

What you should know

काठमाडौँ — ब्याटिङमा केही सुधार गरे पनि नेपाल महिला ट्वान्टी–२० विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको छ । नेपालको अभ्यास खेलमा लगातार दोस्रो हार हो ।

टस हारेपछि ब्याटिङ निम्तो पाएको नेपालले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३६ रन बनाएको थियो । ओपनर चेतना रेड्डीले अर्धशतक बनाएपछि जवाफमा आएको अमेरिकाले ५ बलअघि लक्ष्य पूरा गर्‍यो ।

आयरल्यान्डसँगको पहिलो अभ्यास खेलमा १ सय रनमात्र बनाउन सकेपछि नेपालले बुधबार ९९ रनको हार बेहोरेको थियो । तर शुक्रबार नेपालको माथिल्लोक्रमले निकै सुधारिएको ब्याटिङ गरेको थियो । सम्झना खड्का र विन्दु रावलले नेपालले निकै राम्रो सुरुआत दिलाए । यी दुईले ६ ओभरभित्र ४२ रन जोडेका थिए । आफ्नै कलमा १ रन लिन खोज्दा निकै साँघुरो स्थितिमा रनआउट भएकी सम्झनाले २० बल खेल्दै ३ चौकासहित २४ रन बनाइन् । उनी ३ रनमै क्याचआउट हुनबाट जोगिएकी थिइन् । उपकप्तान पूजा महतोले १५ बल खेल्दै २ चौकासहित १७ रन बनाइन् ।

कप्तान इन्दु बर्मा १ चौकासहित ५ बलमा ४ रन बनाइन् । विन्दु पनि २७ रनमा रनआउट भइन् । उनले २८ बल खेल्दै ३ चौका प्रहार गरिन् । कविता कुँवर ३ र रुबिना क्षेत्री ५ रनमा आउट भए । कविता जोशी र रोमा थापाले मध्यक्रममा राम्रो ब्याटिङ गर्दै नेपाललाई राम्रो स्थितिमा उभ्याएका थिए । कविताले १४ बलमा ४ चौकासहित २० र रोमाले १४ बलमा समान १ चौका र छक्कासहित १९ रन बनाए । सीता रानामगरले १ रनमात्र बनाउन सकिन् । राजमती ऐरी ७ बल खेल्दै १ चौकासहित ८ र मनीषा उपाध्याय १ रनमा अविजित रहे ।

अमेरिकाकी तारानुम चोपराले ३ विकेट लिइन् । उनले ४ ओभरमा २३ रन खर्चिइन् । सैनाभी रेड्डीले २ ओभरमा २० रन खर्चेर २ तथा गीतिका कोडाइल र रितु सिंहले १–१ विकेट लिए । अमेरिकाले पहिलो अभ्यास खेलमा स्कटल्यान्डमाथि १ सय ५० रनको लक्ष्य पूरा गर्दै सनसनीपूर्ण जित पारेको थियो । रेड्डीले ४६ बल खेल्दै ६ चौकासहित अविजित ५६ रन बनाएपछि नेपालको विजय हात पार्ने सम्भावना कमजोर बनेको थियो । रितु १३ बलमा २ चौकासहित १९ रनमा अविजित रहिन् । उनकी ओपनर जोडी गाग्री भोग्ले ४ रन बनाई सोमु विष्टको बलमा इन्दुबाट सानदार क्याचआउट भइन् ।

इला क्लारिज १४ बलमा ३ चौकासहित १४ रनमा रनआउट भइन् । इसानी भाघेलाले २० रन बनाइन् । रिया शर्माको बलमा बोल्ड हुनुपूर्व उनले २० बलमा २ चौका प्रहार गरिन् । कप्तान अदिनिबा चुडासमा १३ रन बनाई रुबिना क्षेत्रीको बलमा आउट भइन् । नेपालबाट सोमु विष्ट, रुबिना र रिया शर्माले १–१ विकेट लिए ।

फिल्डिङका क्रममा घाइते भएपछि विन्दुले सुरुमै मैदान छाडेकी थिइन् । पछि उनी मैदानमा फर्किनन् । यो नेपालका लागि चिन्ताको विषय हुनसक्छ । समूह ‘बी’ मा रहेको नेपालले आइतबार थाइल्यान्डसँग प्रतियोगिताको पहिलो खेल खेल्नेछ । त्यसपछि जनवरी २२ मा नेदरल्यान्ड्स, जनवरी २४ मा जिम्बावे तथा जनवरी २६ मा स्कटल्यान्डसँग खेल्नेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully