ज्ञानेन्द्र विश्वकपमा नजाने

रास्वपाले ज्ञानेन्द्र मल्ललाई फागुन २१ मा हुने भनिएको संसदीय निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ । त्यही कारण विश्वकप जाने नेपाली टोलीको सूचीबाट आफ्नो नाम फिर्ता लिएर क्यानलाई जानकारी गराएको उनले बताए ।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

Gyanendra will not go to the World Cup

काठमाडौँ — नेपाली टोलीका सहयाक प्रशिक्षक ज्ञानेन्द्र मल्ल ट्वान्टी–२० विश्वकपमा नजाने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) प्रवक्ता छुम्बी लामाले विश्वकप जाने टोलीबाट मल्लले यसअघि नै आफ्नो नाम फिर्ता लिएको बताए ।

गत वर्षदेखि ज्ञानेन्द्र नेपालको प्रशिक्षण टोलीमा रहेका थिए । उनी नेपाली टोलीसँगै विश्वकप जाने तयारीमा थिए । तर दुई साताअघि नेपाली टोली रुपन्देहीको एक्स्ट्राटेक ओभल रंगशालामा तयारीका लागि जाँदा खेरि देखि नै ज्ञानेन्द्र थिएनन् । त्यहाँ वसन्त शाहीले सहायक प्रशिक्षकको जिम्मेवारी निभाएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई फागुन २१ मा हुने भनिएको संसदीय निर्वाचनका लागि समानुपातिक सूचीमा राखेको छ । सोही कारण आफूले विश्वकप जाने नेपाली टोलीको सूचीबाट आफ्नो नाम फिर्ता लिएर क्यानलाई जानकारी गराएको ज्ञानेन्द्रले बताए ।

‘नैतिकताको आधारमा पनि नेपाली क्रिकेट टोलीसँग बस्न उचित नभएपछि मैले आफ्नो नाम फिर्ता लिएको हुँ,’ ज्ञानेन्द्रले कान्तिपुरसँग भने । नेपालले पहिलो पटक सन् २०१४ को विश्वकप खेल्दा ज्ञानेन्द्र उपकप्तान थिए । सन् २००५ देखि नेपाली टोलीमा रहेका ज्ञानेन्द्रले २०२३ मा खेलाडी जीवनबाट संन्यास लिएका थिए ।

पारस खड्कापछि उनी नेपाली टोलीको कप्तान भएका थिए । 

कान्तिपुर

Link copied successfully